दाङ — नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दाङ आएका छन् । दंगीशरण गाउँपालिका–३ चखौरास्थित थारु सङ्ग्रहालयमा शनिबारदेखि सुरु हुने २ दिने प्रदेशस्तरीय थारु सांस्कृतिक तथा रैथाने खाना महोत्सव उद्घाटन गर्न देउवा यहाँ आएका हुन् ।
महोत्सवसँगै महतवा, बरघर, भलमन्सा संघको अविधेशन पनि हुन थालेको छ ।
थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गरिएको महतवा, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
‘हाम्रो संस्कृति, हाम्रो सान-संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए । महोत्सवमा दाङ र नवलपरासीको बर्का नाच, कैलालीको मुङग्रहवा र चितवनको थारु नाच प्रस्तुत हुनेछन् । महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवं थारु लगायत विभिन्न जातजातिका रैथाने परिकारको प्रदर्शनी हुने चौधरीले बताए । थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुँगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत रैथाने परिकार रहने उनले जानकारी दिए ।
त्यस्तै थारु भाषाका विभिन्न पुस्तक, पत्रपत्रिकाहरु, थारु हस्तकला लगायत विक्री तथा प्रदर्शनीका लागि राखिनेछन् । महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने चौधरीले बताए ।
महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुका मौलिक भेषभूषासहितका सांस्कृतिक झलकहरु प्रस्तुत हुने छन् । महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाका हजारौं महतवा, बरघर, भलमन्साहरुको उपस्थिति रहने चौधरीले बताए ।
देउवा दाङमा दुई दिन रहने र उनको उपस्थितिमा आइतबार जिल्ला पार्टी कार्यालय घोराहीमा पनि कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बताए ।
