दाङ — घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई एमालेले कारबाही गरेको छ । एमाले जिल्ला कमिटीको बुधबार घोराहीमा बसेको बैठकले शाहलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो ।पार्टी हितविपरीत काम गरेका कारण शाहलाई कारबाही गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले बताए ।
शाहले सार्वजनिकरुपमा र सामाजिक सञ्जालमा पार्टी र नेताविरुद्ध अभिव्यक्ति दिने गरेको र पटकपटक सचेत गराउँदा पनि सुधार नभएपछि कारबाही गरिएको उनले बताए । शाह २०७९ को निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
बैठकले यही फागुन ५ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी घोराहीमा आयोजित सभालाई सफल पार्न जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा १ सय ७६ सदस्यीय मूल व्यवस्थापन समिति र विभिन्न उपसमिति गठन गरेको बस्यालले जानकारी दिए ।
