रेजिडेन्ट र इन्टर्नको आन्दोलनले लुम्बिनी मेडिकल कलेजमा ओपीडी सेवा प्रभावित 

माघ २३, २०८१

माधव अर्याल

Residents and interns' agitation affected OPD services at Lumbini Medical College

पाल्पा — विभिन्न चार बुँदे माग राखेर रेजिडेन्ट र इन्टर्न चिकित्सकको आन्दोलनले पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा सेवा प्रभावित बनेको छ । उनीहरूले मंगलबार बिहान ९ बजेदेखि ५ बजेसम्म सेवा बहिष्कार गरेका थिए । बुधबार पनि बिहान ९ बजेदेखि हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । 

इमरजेन्सी सेवाबाहेक अन्य काममा चिकित्सकले सेवा प्रवाह नगर्दा मेडिकल कलेजकै सेवामा असर पुगेको छ । लुम्बिनी मेडिकल कलेजमा रेजिडेन्ट र इन्टर्न गरी १ सय २४ बढी चिकित्सक रहेका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले राखेको आन्दोलनअन्तर्गत मेडिकल कलेजमा व्यानर र प्लेकार्डसहित प्रदर्शन गरेको रेजिडेन्ट चिकित्सक डा. दीपक कँडेलले बताए । 

चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले संयुक्त जारी गरेको सिफारिस तत्काल खारेज गर्नुपर्ने, सम्पूर्ण इन्टर्न, एमडी, एमएस, एमडीएस, एमसीएच रेजिडेन्टको पारिश्रमिक न्यूनतम सरकारीसरह कायम गर्न माग गरेका छन् । त्यस्तै पीजी कार्यक्रम पूर्णतया शुल्करहित र बोन्डरहित गर्न माग गरिएको छ । 

रेजिडेन्सीमा ड्युटी समय र बिदा समयलाई वैज्ञानिक ढंगले बनाउन माग गरेका छन् भने सातामा अधिकतम् ८० घण्टा ड्युटी, सातामा अधिकतम् २ वटा २४ घण्टा ड्युटी, प्रत्येक २४ घण्टा ड्युटीपछि पोस्ट ड्युटी अफ, तलबी प्रसूति बिदाको व्यवस्था, वार्षिक २१ दिन साधारण र ७ दिन अध्ययन बिदाको व्यवस्थाको माग गरेका छन् । हप्ताको न्यूनतम एक दिन अनिवार्य बिदालगायतको व्यवस्थासहितको कार्यविधि जारी गर्न माग गरेका छन् । 

सरकार र संघर्ष समितिबीच भएको सहमतिबमोजिम बनेको डा.टंक बराकोटी कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक गरी कार्यतालिका बनाइ कार्यान्वयन गर्न माग गरेका छन् । कन्सल्ट्यान्ट चिकित्सकले भने सेवा प्रवाह गरेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । कम्पनी सचिव कृष्ण पराजुलीले राष्ट्रिय रूपमै गरेको आन्दोलनमो लुम्बिनी मेडिकल कलेजमा पनि भएको बताए । ‘ओपीडी सेवामा बिरामी जाँच नगर्दा केही असर पक्कै परेको छ,’ उनले भने, ‘तर सकेसम्म सेवाग्राहीलाई मर्का नपर्ने गरी कन्सल्ट्यान्ट चिकित्सकबाट सेवा प्रवाह गरिएको छ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully