नेपालगन्ज — बालबिज्याइँकर्ताहरुलाई लक्षित गरेर बाँकेको बैजनाथ–३ स्थित नौवस्ता बालसुधार गृहमा बिरामी उपचार कक्ष स्थापना गरिएको छ । प्रारम्भिक बाल विकास केन्द्रद्वारा बालसुधार गृहमा स्थापना गरिएको कक्षको केद्रकी अध्यक्ष पुष्पा बस्नेतले सुधार गृहका प्रमुख श्यामबहादुर रानालाई हस्तान्तरण गरिन् ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार बालसुधार गृहलाई सहयोग गरिएको अध्यक्ष बस्नेतले बताइन् । उनका अनुसार केन्द्रले देशभरका बालसुधार गृहहरुमा सहयोग गर्दै आएको छ । सोही अनुसार एक कार्यक्रमकाबीच नौवस्ता बालसुधार गृहलाई सहयोग गरिएको उनको भनाइ थियो ।
उक्त अवसरमा केन्द्रले बिरामी कक्षका लागि आवश्यक ५४ प्रकारका औषधिसमेत प्रदान गरेको छ । बालबिज्याइँकर्ताहरुका लागि स्वास्थ्यवर्द्धक ११ प्रकारका सामग्री भएको ११६ थान डिगनिटी किट, १० प्रकारका सामान भएको क्रियापुत्री बाकस र अन्य १४ प्रकारका औषधि सहयोग गरिएको हो ।
उक्त सामग्री प्रारम्भिक बाल विकास केन्द्रकी लेखा प्रमुख मञ्जु आचार्यले हस्तान्तरण गरेकी थिइन् । प्रारम्भिक बाल बिकास केन्द्र काठमाडौंबाट बालसुधार गृहका लागि खाद्यान्न, बालबिज्याइँकर्ताको उपचारलगायत शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमासमेत निरन्तर सहयोग पाउँदै आएको बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाले बताए ।
