आधारभूत तहसम्मै कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुटवल — लुम्बिनी प्रदेश सरकारले लैंगिक समानता नीति, २०८० बनाएर कार्यान्वयन सुरु गरेको छ । लैंगिक समानता नीतिले महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तिकरणलाई प्राथमिकता दिएको छ ।
नीतिमा लैंगिक हिंसा रोकथाममा पुरुष सहभागिता बढाउने, महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रावधान समेटिएका छन् । त्यस्तै लुम्बिनी प्रदेशले निजामती सेवामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई एक प्रतिशत आरक्षणको व्यवस्था गर्दै समावेशीतालाई प्रवर्द्धन गरेको छ ।
सामाजिक न्याय र समतामा आधारित लैंगिक समानतायुक्त प्रदेश बनाउने दिर्घकालीन सोंचका आधारमा लैंगिक समानता नीति तयार भएको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बताए । प्रदेशका सबै तह र क्षेत्रमा लैंगिक समानता कायम गरी प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने लक्ष्य नीतिले लिएको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नीतिको प्रभावकारी कार्यान्वयनका लागि आधारभूत तहसम्म कार्यक्रम पुर्याउनु पर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्य र प्रमाणलाई आधार मानेर समस्या र स्थानकेन्द्रित गरेर नीतिको कार्यान्वयनमा जोड दिनु पर्ने बताए । ‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरु छन्,’ उनले भने, ‘ती असमानताहरु हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो ।’ लैंगिक समानता र सामाजिक न्याय स्थापित गर्न प्रदेशले अघि बढाएका नीति तथा कार्यक्रमको कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने उनले बताए ।
सामाजिक विकासमन्त्री जन्मजय तिमिसिल्नाले दातृनिकाय तथा संघ संस्थालाई लैंगिक समानता नीतिले प्राथमिकतामा राखेका क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नु पर्ने बताए । ‘समुदायमा के समस्या छ, त्यसको पहिचान गरेर समाधान गर्नेगरी कार्यक्रम बनाउँदै छौं,’ उनले भने, ‘समतामुलक समाज निर्माण गर्ने चाहना सबैको साझा विषय हो ।’
नीतिले प्रदेशभर लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उनले बताए । निर्देशक समितिको बैठकले प्रदेशको लैंगिक समानता नीति २०८० को प्रभावकारी कार्यान्वयन गर्न क्षेत्रगत, तहगत तथा विषयगत रुपमा समन्वय र सहकार्य गरी दोहोरोपन हटाई कार्यसम्पादनको व्यवस्था मिलाउन समन्वय तथा कार्यान्वयन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले विभिन्न मन्त्रालय, विकास साझेदार, नागरिक समाज, संस्था तथा सरोकारवालाहरुबाट नीति कार्यान्वयन गर्दा समन्वय गर्ने, स्थानीय तहमा समन्वय तथा सहजीकरण समिति गठनगरी क्रियाशील बनाउन आवश्यक सहजीकरण गर्ने लगायतका निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ईश्वरराज पौडेलले बताए ।
