दुई वर्षदेखि अदुवाको सुकेका चाना निर्यात
पाल्पा — निस्दी गाउँपालिका–५ गल्धाका किसानले उत्पादन गरेको अदुवा र सिमी युरोपका बजारमा निकासी भएको छ । दुई वर्षअघिदेखि अदुवाको सुकेका चाना निकासी हुँदै आएको छ । यस वर्ष काँचो अदुवासमेत निकासी भएको हो । यस वर्ष थप अदुवाको चाना र सेतो सिमी निकासीको तयारी छ ।
अर्गानिक प्रमाणित भएको काँचो अदुवा ९ हजार ८ सय केजी युरोप निकासी भएको छ । आफूहरूको लक्ष्य भने २० हजार केजी काँचो अदुवा पठाउने रहेको गल्धा ढुंगानाबेंसीस्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक अममाया मश्राङ्गीले जनाइन् । ‘हामीले जुसका लागि लगाइएको बोसे अदुवा राम्रो नफलेका कारण लक्ष्यअनुसार पठाउन सकिएन,’ उनले भनिन्, ‘अब अदुवाको चाना बनाउन सुरु गरेका छौं । मागअनुसारको चाना पठाउन सकिन्छ भन्ने लागेको छ ।’
विदेश निर्यात गर्ने तयारीका लागि सहकारीको भवनमा दैनिक कम्तीमा २० जना महिला अदुवा सफा गर्न, चाना बनाउन, सुकाउन व्यस्त बनेका छन् । २५ हजार केजी सेतो सिमी ग्रेडिङको पनि काम भइरहेको सहकारीकी लेखा समिति संयोजक नारायणी ढुंगानाले बताइन् । सहकारी आवद्ध २ सय ७२ जना किसानसँग अर्गानिक प्रमाणित गरेर अदुवा खरिद गरी विदेश निकासी गर्दै आएका छन् ।
यहाँका महिलाले विभिन्न सरोकारवाला निकायको सहयोगमा ४ वर्षदेखि अदुवा प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । सहकारीले काँचो अदुवा हेफर नेपालको आर्थिक सहयोग, ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको समन्वय र अकिस्टा नेपालको प्राविधिक सहयोगमा ४२ रोपनी जग्गा भाडा लिएर सिन्धुली र रामेछापबाट बीउ मगाएर बोसे अदुवा लगाएको थियो । जुसका लागि उपयुक्त प्रजातिको अदुवा सहकारीले जग्गा लिजमा लिएर गरेको अध्यक्ष मश्राङ्गीले बताइन् । गल्धाका सहकारीले बाङ्लाङ्, गेझा, मुढाभन्ज्याङ, तमासगिरी, बहपुरमा बोसे अदुवा लगाएका थिए । भाडामा मात्र १ लाख ३ हजार खर्च भएको छ ।
सहकारीमै दैनिक १५ जना महिला सेतो सिमीको ग्रेडिङ गर्न व्यस्त बनेको ढुंगानाबेंसीकी कर्मवती सुनारी मगरले बताइन् । सिमीलाई संकलन गर्ने र त्यसपछि ग्रेडिङ गर्ने हतारो रहेको उनको भनाइ छ । १ सय ३० देखि ४० सम्म भाउ पाउने गरेका किसानले यस वर्ष १ सय ६५ रुपैयाँ केजीमा सहकारीमै बिक्री गर्न पाएका छन् ।
सदरमुकाम तानसेदेखि ६५ किलोमिटर टाढा पर्ने यस गाउँमा उत्पादन भएको कृषि उपज सेतो सिमीको बजारीकरण सुनिश्चित भएपछि किसान खुसी छन् । यस वर्ष युरोपबाट आएको माग पूरा गर्न २५ हजार ८१ केजी सेतो र ३ हजार ५९ केजी कालो तथा खैरो गरी २८ हजार १ सय ४० केजी सिमी सहकारीले खरिद गरेको व्यवस्थापक डिलमाया सारूले जनाइन् ।
एउटै गाउँबाट सिमीबाट मात्र ४५ लाख ६४ हजार २६ रुपैयाँ बराबरमा खरिद गरेको व्यवस्थापक सारूले बताइन् । संकलितमध्ये २० हजार केजी युरोपका जर्मनीलगायत विभिन्न देशमा पठाउने तयारी गरिएको छ । त्यसका लागि कृषि प्राविधिक अकिस्टा नेपाल प्रालिले नै खटाएको छ । गल्धाका कठैडाँडा, पटाङ्सार, गेझा, धनुवास, गाबुडाँडा, खर्कडाँडा, बहपुर, बेलौजी, धाचुर, कोटथर लगायतका किसानले सिमी लगाउँछन् ।
सहकारीले सञ्चालन गरेको अदुवा प्रशोधन उद्योगले सुकाएको अदुवाको चाना ३ वर्षअघिबाट युरोप निकासी सुरु गरेको हो । यस वर्ष पनि अकिस्टा नेपालले नसे जातको अदुवाको १० हजार केजी चाना निर्यात गर्ने सम्झौता गरेको छ । यो काँचो अदुवा ६० देखि ६५ हजार केजी हो । सहकारी संस्थाले २०८१ जेठमा ४ हजार ४ सय ६० केजी अदुवाको चाना युरोपका बजारमा पठाएको थियो । संस्थाले दुई वर्षअघि अर्गानिक प्रमाणित गरेर ८ सय ५ किलो अदुवा नमुना परीक्षणका लागि युरोप पठाएको थियो । निकासी गर्ने संस्थाले प्रशोधन घाटा, प्रमाणीकरण, ओभरहेड लगायतमा समेत सहकारीलाई सहयोग गर्ने गरेको छ ।
सहकारीले सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री सहयोग जुटाएको छ । महिलालाई आत्मनिर्भर गराउन नगदेबाली अदुवा लगाउन प्रोत्साहन गर्दै आएको छ । गल्धा क्षेत्रको मात्र अर्गानिक प्रमाणित भएकाले आगामी दिनमा नजिकका ज्यामिरे, मित्याल, झिरुवास र सहलकोटको अदुवा पनि अर्गानिक प्रमाणितको पहल गर्ने संस्थाले जनाएको छ ।
अदुवाको धूलो पनि निर्माण गरिन्छ । निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरिद गरी यसअघि बुटवल, भैरहवा, काठमाडौंदेखि भारतसम्म मात्र पुगेको थियो । गल्धास्थित सहकारीले गत वर्ष ३९ हजार ८ सय ८४ केजी अदुवा खरिद गरी ३९ लाख ७६ हजारमा खरिद गरी ४७ लाख ६८ हजारमा बिक्री गरेको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि अदुवा उत्पादन, बजार र यसको प्रवर्द्धनमा पछिल्लो समयमा ध्यान नदिएकाले उत्पादनमा ह्वात्तै घटेको छ । पछिल्लो समयमा २ सय ८० हेक्टरमा अदुवा खेती भए पनि कृषि ज्ञान केन्द्रको तथ्यांकमा भने १ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा वार्षिक १३ हजार टन बढी अदुवा उत्पादन हुने उल्लेख छ ।
