फरार दुई अभियुक्त पक्राउ

माघ २२, २०८१

रुपा गहतराज

Two absconding accused arrested

नेपालगन्ज — बाँके प्रहरीले फरार दुई अभियुक्तलाई नेपालगन्जबाट पक्राउ गरेको छ । जाजरकोट कुशे गाउँपालिका–८ निवासी २३ वर्षीय जगतसिंह ठकुरी र नेपालगन्जका ५० वर्षीय राकेश वाल्मीकिलाई मंगलबार पक्राउ गरिएको हो ।

२०८१ असार २८ गते राती १० बजे नेपालगन्ज उपमहानगरपालिका टाँगा स्टेसननजिकै इरसाद कवडियामाथि ठकुरीले हतियार प्रहार गरेका थिए । ठकुरीलाई गएराती नेपालगन्ज गेस्ट हाउसबाट पक्राउ गरिएको हो भने माघ १९ गते राति नेपालगन्ज–११ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका मोटरसाइकल चालक वाल्मीकिलाई घरबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता डीएसपी आयुशप्रसाद जोशीले बताए । 

ठक्कर दिएर फरार रहेका चालक र मोटरसाइकलको खोजतलास गर्ने क्रममा ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकल लुकाइ राखिएको अवस्थामा प्रहरीले नेपालगन्ज–७ रानीतलाउबाट बरामद गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार शनिबार राति नेपालगन्ज–११ इदगाह रोडस्थित त्रिभुवन चोक जाने बाटोमा दुईवटा मोटरसाइकल ठोक्किँदा बर्दियाको राजापुर नगरपालिका–१० का २३ वर्षीय देवनारायण थारूको मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी जोशीले थारू सवार भे १० प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएका चालक र मोटरसाइकललाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिन सफल भएको बताए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully