वडाध्यक्षहरूद्वारा प्रमुख प्रशासकीय अधिकृत पठाउन माग

माघ २२, २०८१

मनोज पौडेल

Request to send chief administrative officer by ward presidents

कपिलवस्तु — प्रमुख प्रशासकीय अधिकृत छिटो पठाउन माग गर्दै कपिलवस्तु नगरपालिकाका वडाध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । १२ मध्ये ८ जना वडाध्यक्षहरूले हस्ताक्षर गरी मंगलबार निमित्त प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको काम प्रभावित भएको भन्दै प्रशासन कार्यालयमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुभाउन हस्ताक्षर गर्नेमा वडा नं. १ का मोहम्मद जाहिद खा, वडा नं. २ का अशोककुमार गुप्ता, वडा नं. ३ का रुद्रबहादुर गैरे, वडा न. ६ का रामजीतप्रसाद कुर्मी, वडा नं. ७ का इन्द्रमणी कुर्मी, वडा नं. ८ का शिवकुमार पाण्डे, वडा नं. १० का मोहनलाल शर्मा र वडा नं. १२ का इन्सान अली धुनिया रहेका छन् । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरमा विकास निर्माणका काम, सामाजिक सुरक्षा भत्ता वितरण, शिक्षक तथा कर्मचारीको तलब सुविधा र योजना कार्यान्वयन सम्झौता लगायतका कार्य पूर्ण रूपमा रोकिएका छन् । यसबाट स्थानीय नागरिक, कर्मचारी र सरोकारवालासमेत समस्यामा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाका विकास र प्रशासनिक काम प्रभावित भएकाले तत्कालै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएर समस्या समाधान गरिदिन वडाध्यक्ष मोहम्मद जाहिदले बताए ।

मनोज

Link copied successfully