दाङ — लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस सोमबार मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरिएको दिवसको मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मन्त्रालयका स्टलहरू राखेर सरकारले गरेका कामहरू सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकार पूर्ण कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे । संघीय शासन व्यवस्था लागू भए पनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरूले जोड दिए ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए । उनले जनप्रतिनिधि जनताको सेवक रहेको उल्लेख गर्दै जनताभन्दा माथि कोही नहुने विचार व्यक्त गरे । ‘जनता हाम्रा मालिक हुन् । हामी सेवक हौं,' उनले भने, 'हामी जनताप्रति जवाफदेही हुनुपर्छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारमध्ये प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले काम गरेको दाबी गरे। ‘हामीले ७ वर्षको अवधिमा १ सय १० वटा कानुन निर्माण गरेका छौं,’ उनले भने ।
सङ्घीय सरकारसँगको सहकार्य र स्थानीय तहसँगको समन्वयसहितको सह-सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने धारणा उनले राखे ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिंचाइ, उत्पादन, रोजगारी, उद्यम, पर्यटन क्षेत्रमा स्थान विशेषका आधारमा फरक योजना बनाएर काम गरेको उनले बताए ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वका लागि सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए । पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल साबित गर्न अझै ऐतिहासिक कामहरूलाई अघि बढाउन आवश्यक रहेको बताए । एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए ।
प्रदेश स्थापना दिवसमा ११ वटा विभिन्न झाँकी प्रदर्शन गरिएका थिए । जसमध्ये अर्घाखाँची शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, दाङ गढवाको पञ्चेबाजा झाँकी दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका थिए । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
