अबको शिक्षा प्रविधियुक्त र सीपमूलक हुनुपर्छ : मन्त्री तिमिल्सिना

माघ २१, २०८१

सन्जु पौडेल

Future education should be technological and skill oriented: Minister Timilsina

तिलोत्तमा — लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अबको शिक्षा प्रविधियुक्त र सीपमूलक हुनुपर्ने बताएका छन् ।

रूपन्देहीको तिलोत्तमा–५ स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले विश्व जगत‍्मा प्रविधिले फड्को मारेर सबै कुरा सिकाइरहेका बेला पुरानो शैलीको अध्यापनले बालबालिकाको शिक्षा विकास हुन नसक्ने बताए । 

शिक्षाको अवसरबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै उनले शिक्षकले प्रविधियुक्त सीप सिकेर पढाउने दिन आएको जनाए । ‘प्रदेश सरकार हरेक बालबालिकाले पाउनुपर्ने शिक्षालाई सीपसँग जोडेर अभ्यासोन्मुख गराउने प्रयत्नमा छ,’ उनले भने, ‘त्यसका लागि हरेक विद्यालयले अभ्यास गर्न जरुरी छ ।’

विद्यालय स्तरमा रहेका धेरै विद्यार्थीले राम्रो अध्ययन गर्नुका साथै आफूमा भएको बाह्य कलासमेत प्रदर्शन गर्ने वातावरण पाए उनीहरूमा आत्मविश्वास बढ्ने र जीवनयापन सहज हुने बताए । तिमिल्सिनाले प्रदेश सरकारसँग समन्वय गरी यहाँका विद्यालयले नयाँ योजना ल्याउन र कार्यक्रम गर्न चाहे आफूले त्यसमा हरबखत सहयोग गर्ने बताए । सीप सिकाइसँगै शिक्षालाई जोडेर बालबालिकालाई आत्मनिर्भर हुने बाटोमा डोर्‍याउनुपर्ने पनि उनले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडेले रूपन्देहीमा अग्रणी स्थानमा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापन र प्रधानाध्यापकको अथक प्रयासले विद्यार्थीलाई नयाँ क्रियाकलापमा सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सकिरहेको बताए ।

वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पुर्‍याउने ५० जना शिक्षक, कर्मचारी, १ जना सेवा निवृत्त शिक्षक, ७ जना समाजसेवी, १९ जना उत्कृष्ट अभिभावक र १० जना अक्षयकोषदातालाई सम्मान गरिएको थियो । त्यस्तै, विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी यस वर्ष उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ५६ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने एसईईमा ‘ए प्लस’ ल्याउने ५६ जना र कक्षा १२ मा ‘ए प्लस’ ल्याउने ३९ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully