कपिलवस्तु — नारायणी, कोशी, राप्ती नदी र जगदीशपुर तालमा प्रशस्त देखिने रैथाने उत्क्रोशी फ्यालफ्याले चरा अहिले कोशीमा मात्र देखिन्छ । अहिले यिनको संख्या नेपालमै १० भन्दा कम छ । हिउँदे आगन्तुकका रूपमा शुक्लाफाँटा, चितवन र लुम्बिनीमा देखिँदै आएका सेतोकण्ठे धिप्सी चरा पनि अहिले शुक्लाफाँटामा मात्र देखिन थालेको छ ।
शुक्लाफाँटामा सन् १९९८ मा ३० वटा रेकर्ड भएकामा अहिले ३/४ वटामात्र देखिन्छन् । यो चरा पनि मुलुकभर १० कै हाराहारीमा रहेको अनुमान छ ।
बर्सेनि चरा हराउने क्रम बढ्दै गएको पाइएको छ । नेपालमा संकटापन्न चराको संख्या बढ्दै गएको छ । बासस्थान विनाशले तराईमा संकटापन्न अवस्थामा पुग्ने चरा बढ्दै गएको संरक्षणकर्मी बताउँछन् । घाँसे मैदान र सिमसार क्षेत्र नष्ट हुँदै जाँदा चरालाई समस्या थपिएको हो । सन् २०१७ मा तराईमा मात्रै पाइने १ सय ३२ प्रजातिका चरा संकटापन्न सूचीमा परेका थिए । तिनीहरू बिस्तारै हराउँदै गएका हुन् । तीमध्ये ३९ प्रजातिका चरा पहाड र हिमालमा पाइन्छन् ।
सिमसार तथा घाँसे मैदानको कमीले आहारविहार गर्न नपाउँदा चरा संकटमा पर्दै गएका हुन् । चोरी सिकारी, बढ्दो विषादी प्रयोग र जनसंख्या वृद्धिले कोलाहल वातावरणका कारण उनीहरूलाई समस्या थप्दै गएको हो । जुलोजिक सोसाईटी अफ लन्डन, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र हिमालयन नेचरले संयुक्त रूपमा गरेको सन् २०१७ को अध्ययनमा तराईमा चरा संकटापन्न बढ्दै गएको देखाएको थियो । ‘२०१४ सम्म तराईमा संकटापन्न चराको अवस्था १०५ थियो,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘२०१७ मा बढेर १३२ पुग्यो ।’ त्यसयता भने अध्यनन नै भएको छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र पन्छी संरक्षण संघले २०११ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालभरि १ सय ४९ प्रजातिका चरा संकटापन्न सूचीमा परेको उल्लेख थियो । २०१७ मा गरिएको अद्यावधिक प्रतिवेदनअनुसार नेपालभरि संकटापन्न चराको संख्या १ सय ६९ पुगेको छ । सोही वर्ष पन्छी संरक्षण संघको अध्ययनमा १ सय ७२ प्रजातिका चरा संकटमा पुगेको बताइएको छ ।
सन् २०२५ को अन्त्यतिर फेरि राष्ट्रिय रूपमा संकटमा परेका चराको अध्ययन हुनेछ । आठ वर्षपछि चराविद् संघले गर्न लागेको अध्ययनमा संकटमा पर्ने चराको संख्या बढ्ने निश्चित रहेको चराविद्हरू बताउँछन् । यसमा सेतो कण्ठे धिप्दै, कुमारी र उत्क्रोशी फ्यालफ्याले संकटमा पर्ने देखिएको चराविद् हठन चौधरीले बताए । साना ठूला तलाउ, पोखरी जलकुम्भीले भरिनु, घाँसे मैदान र सिमसार क्षेत्र नष्ट हुँदै जाँदा आहारा र बासस्थान विनाशले धेरै चरा संकटापन्न अवस्थामा पुगेको उनले बताए ।
बासस्थान विनाशकै कारण ८४ प्रतिशत अर्थात् १ सय ४२ प्रजातिका चरा संकटापन्न भएको चराविद् चौधरीले बताए । बाँकी विषादीको प्रयोग र चोरी सिकारीका कारण संकटमा परेको छ । तराईपछि पहाड र हिमाली क्षेत्रमा पाइने चरा हराउन थालेको उनले बताए ।
यसअघि २०१७ मा मनमोहक कृष्णकण्ठ गरुड, श्वेताँखीभौं र सुईरोपुछ्रे संकटमा परेका थिए । सानो कण्ठे तोरीगाडा, ठूलोकण्ठे तोरीगाडा र लघु बगेडी संकटमा परेका थिए । कालो टाउके बगेडी, नकटा हाँस र कपिन्जल तित्रा पनि संकटमा परेका थिए ।
पन्छीविद् संघका अनुसार नेपालमा कुल ८ सय ९७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ६ सय ५० प्रजातिका रथाने चरा सधैं नेपालमै बस्छन् । यी प्रायः सबै बच्चा कोरल्ने प्रजातिका हुन् । यस्तै १ सय ५० प्रजातिका हिउँदे र ६५ प्रजातिका गृष्म आगन्तुक र ३२ प्रजातिका बटुवा र फिरन्ते चरा हुन् ।
मानवीय असुरक्षा र विषादीको बढी उपयोगले चरा हराउँदै गएर अस्तित्व संकटमा परेको चराविद् डा. हेमबहादुर कटुवालले बताए । घरआँगनका रुखविरुवा काटिनु, वन विनाश मुख्य कारण हुन्,’ उनले भने, ‘चोरी सिकारीले पनि चराको अस्तित्व संकटमा पर्दै गएको छ ।’ खेतबारीमा बस्ने धेरै प्रजातिका चरा पाइने तराईका खेतीयोग्य जग्गा प्लटिङले चरा बर्सेनि हराउँदै छन् । ‘बढ्दो ध्वनि प्रदूषण छ,’ उनले भने, ‘घट्दो कृषियोग्य जमिनका कारण पनि समस्या गहिरिँदो छ ।’
तराईका तालतलैयामा रमाउने कतिपय चरा जलकुम्भी, सेवारजस्ता झारका कारण समस्यामा परेको चराविद् कृष्णप्रसाद भुसाल बताउँछन् । तालमा पौडेर माछा खाने जातका चरा त्यस्ता झारले हराउन थालेकाले पारिस्थितिकीय प्रणालीमा असर पुर्याएको उनले बताए । ‘चरा कृषकका साथी हुन् ।
बालीनालीलाई हानि नोक्सानी गर्ने किरा फ्टयांग्रा खान्छ । उत्पादन बढाउन सहयोग गर्छ । समयमै चरा संरक्षण नीति र योजना बनाउन लाग्नु पर्छ,’ उनले भने, ‘नभए चरा पर्यटनका लागि विश्वमै कहलिएको नेपाललाई गाह्रो हुँदै जाने अवस्था छ ।’ नेपालको पर्यटनमा १० प्रतिशत बढी चरा पर्यटनको योगदान छ । खेतबारीमा विषादीको प्रयोगले कीराफट्यांग्रा, मुसा, सर्प सबै सखाप हुने भएकाले चरालाई आहाराको कमी हुने गरेको छ ।
खेतबारीमा प्रयोग भइरहेको विषादी घटाउन स्थानीय सरकारले अब पहल थाल्न आवश्यक भइसकेको चराविद् अंकिलविलास जोशीले बताए । जैविक मल–विषादी प्रयोग बढाउन अनुदानको व्यवस्था गर्न सके चरासँगै मानिसको बिग्रँदो स्वास्थ्य बचाउन सकिने चराविद् जोशी सुझाउँछन् । १९९६ मा नेपालमा पाइनेमध्ये १ सय ३३ प्रजातिका चरा संकटापन्न थिए । २००४ मा संख्या बढेर १ सय ४३ प्रजातिका चरा संकटापन्न हुन पुगे ।
२०१० संकटापन्न हुने चराको प्रजाति बढेर १ सय ४९ पुगेको पन्छी संरक्षण संघले जनाएको छ । अध्ययनका क्रममा बालीनालीमा बढ्दो विषादी प्रयोगले खेतबारीमा पाइने धेरै चरा मर्न थालेको देखिएको छ । विषादीको असर प्रजनन र अण्डामा समेत पर्ने गरेकाले चरा बिस्तारै लोप हुने क्रम बढेको हो ।
