लिबाङ-दाङ छोटो सडक अलपत्र

लिबाङलाई घोराहीसँग जोड्ने ६२ किलोमिटर सडक निर्माण वर्षौंदेखि रोकियो

माघ २०, २०८१

काशीराम डाँगी

Libang-Dang short road stranded

रोल्पा — रोल्पा सदरमुकाम लिबाङलाई दाङसँग जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्य वर्षौंदेखि अलपत्र छ । लिबाङदेखि सोझै दक्षिणतर्फको रोल्पाका जेदबाङ–मसिना–जौलीपोखरी र दाङको दुईखोली हुँदै घोराही पुग्ने सडकको लम्बाइ ६२ किलोमिटर मात्रै छ ।

लिबाङदेखि पश्चिमको सहिदमार्ग हुँदै घोराही पुग्ने यातायातका साधनले करिब ९० किलोमिटर र पूर्वको प्यूठान–भालुबाङ हुँदै १ सय ५७ किलोमिटर पार गर्नुपर्छ ।

लिबाङ र घोराहीलाई सोझै जोड्ने छोटो सडक मार्ग निर्माण नभएका कारण यातायातका साधनले लामो दूरी तय गर्नुपर्ने अवस्था छ । छिमेकी जिल्ला प्यूठान हुँदै यातायातका साधन घोराहीसम्म पुर्‍याउँदा समय र इन्धनको खर्च बढी लाग्ने व्यवसायीको भनाइ छ ।

सहिद मार्गको विभिन्न स्थानमा निर्माण कार्य भइरहेको र घोराहीदेखि होलेरीसम्मको निर्माण सकिएको कालोपत्र सडक पूर्ण रूपमा ध्वस्त भएकाले आउजाउ गर्न निकै धौधौ हुने गरेको छ । ‘सहिदमार्गको होलेरीदेखि दारबोट क्षेत्रको सहिदमार्ग सजिलो भए पनि होलेरी उता निकै अप्ठ्यारो छ । यातायातका साधन चलाउन ज्यादै दुःख छ,’ जलजला हिमाल यातायात प्रालिका अध्यक्ष भीमसेन घर्तीमगरले भने, ‘तैपनि छोटो सडक भएकाले दुःखका साथ चलाएका छौं ।’

जलजला हिमालसँगै रोल्पा जलजला, हिमताल र नमस्ते आशीर्वाद यातायात प्रालिले रोल्पादेखि दाङ र अन्य स्थानसम्म सवारीसाधन चलाउने गरेका छन् । साना–ठूला गरी यी प्रालिले रोल्पाका भित्री गाउँसम्म सवारीसाधन चलाउने गरेका छन् । मुख्यबाहेक ग्रामीण सडकको स्तरोन्नति नभएकाले धेरैजसो सडकमा साना सवारीसाधन चलाउने गरिएको छ ।

ठूला र साना सवारीसाधन लिबाङदेखि दाङ, नेपालगन्ज, बुटवल, काठमाडौंका साथै जिल्लाभित्रका होलेरी, जुगार, घर्तीगाउँ, थबाङ, मिरुल, कुरेली, भाबाङ, राङ्सी, होमा, धबाङ, गजुल, तेबाङ, अरेस, गुम्चाल, बडाचौर, फगाम, उवा, सेरमलगायत स्थानसम्म सञ्चालनमा छन् ।

लिबाङदेखि प्यूठान–भालुबाङ हुँदै दाङको घोराही पुग्ने यातायातका साधनले लामो दूरी पार गर्नुपर्दा भाडा पनि बढी लिने गरेका छन् । सडक कालोपत्र गरिएको भए पनि प्यूठान–भालुबाङ खण्डमा सडक चौडा बनाउने काम चलिरहेको हुँदा समय थप लाग्ने गरेको छ ।

‘प्यूठानको आधा भाग घुमेर जानुपर्दा समय पनि बढी लाग्ने साथै दूरी पनि बढी हुने भएकाले भाडा बढी ल्याउनुपर्ने बाध्यता छ,’ रोल्पा जलजला यातायात प्रालिका कर्मचारी यगेश्वर आचार्यले भने, ‘यो सडक पुरानो पनि हो । यसको विकल्पका रूपमा रोल्पाबाट दाङ पुग्ने अर्को छुट्टै सडक अझै नभएकाले त्यहीँबाट जानु बाध्यताजस्तै छ ।’

जिल्लाको बढी लगानी भएको अर्को सडक सहिदमार्ग निर्माण नसकिएकाले सहज आउजाउ गर्न सक्ने अवस्था छैन । अर्कोतिर घोराहीदेखि होलेरी र दारबोट, घर्तीगाउँ हुँदै थबाङ पुर्‍याउने उद्देश्यले सहिदमार्ग निर्माण थालिएकाले लिबाङ आइपुग्न पनि घुमेरै यात्रा तय गर्नुपर्छ ।

लिबाङ मध्य भागमा परे पनि सहिदमार्ग पश्चिम क्षेत्रलाई समेटेर उत्तरी क्षेत्रसम्म पुर्‍याइएकाले लिबाङ अपायकजस्तै छ । त्यसैले घोराही पुग्ने सबैभन्दा छोटो मानिएको सडक लिबाङ–सल्लीबोट, कोछाप–मसिना–धौलाबाङ–दुईखोली नै भएको धेरैको भनाइ छ ।

वर्षौंअघिको उक्त योजनालाई सरकारले प्राथमिकतामा नपारेकाले अलपत्र परेको पूर्वसांसद लेखनाथ आचार्यले बताए । ‘यो सडक नै सबैभन्दा छोटो, नजिकको र महत्त्वपूर्ण भएकाले सरकारले यो सडकलाई छिट्टै निर्माण गर्नुपर्छ,’ उनले भने । यो सडक निर्माण भए रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र दाङको घोराही उपमहानगरपालिकालाई सडक मार्गले सोझै जोड्नेछ ।

यो सडकको निर्माण पूरा भए दाङलाई स्वर्गद्वारी, रुन्टी र जलजला क्षेत्रसँग पर्यटकीय सम्बन्धले पनि जोड्ने रोल्पा नगरपालिका–१ का वडाध्यक्ष खुमबहादुर थापाको भनाइ छ । दाङबाट जलजलासम्म सोझै पुग्ने पर्यटकलाई छोटो दूरी पार गरेर आउन उक्त सडक उचित हुने उनले बताए । उक्त सडकले थबाङलाई पनि निकै छोटो दूरीले जोड्नेछ ।

उक्त सडकको माडीखोला र कोछापबीचको खण्डमा पर्ने माडीखोलामा सडक पुल निर्माण हुने क्रममा छ । लिबाङदेखि दुईखोलीसम्मको विभिन्न खण्डमा सडकको प्रारम्भिक निर्माण भएको छ । सडकको स्तरोन्नति गरेर कालोपत्रसमेत गर्न सकेमा सडकमा आउजाउ गर्न निकै सहज हुने स्थानीयको अपेक्षा छ ।

पटक–पटक गरेर उक्त सडकमा करोडौं लगानी खर्च भइसकेको वडाध्यक्ष थापाले जनाए । सडक निर्माण कार्यलाई मुख्य प्राथमिकतामा नपारेर बजेट मात्रै खर्च भइरहेको उनको आरोप छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully