चितवन राष्ट्रिय निकुञ्जबाट ४ वटा गैँडा स्थानान्तरण गर्ने काम सुरु

माघ २०, २०८१

नवीन पौडेल

The work of relocating 4 rhinos from Chitwan National Park has started

नवलपुर — चितवन राष्ट्रिय निकुञ्जले पूर्वी नवलपरासीको पश्चिम सेक्टरबाट ४ वटा  गैँडा स्थानान्तरण गर्ने काम सुरु गरेको छ । शनिबार कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यबर्ती वनबाट एउटा गैडा १५ वर्षको पोथी डाट गरेर चितवन लगेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कन्डेल सहितको प्राबिधिक टोलिले गैडा स्थान्तरण गरेको हो । निकुञ्जको पश्चिम सेक्टरमा करिब २ सय गैडा भएकाले आनुवांशिक विविधता मिलाउन पश्चिम सेक्टरबाट निकुञ्जको पुर्वी सेक्टर गैँडा स्थानान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनास थापाले बताए । 

२ वटा भाले र २ वटा पोथी वयस्क गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणलाई अगाडि बढाईएको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने योजना अनुसार २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेकटरमा स्थानान्तरण गरिएको थियो ।  नवलपुर क्षेत्रबाट गैडा स्तान्तरण गरीएको विषयमा जिल्लाका पर्यटन व्यवसायीले भने विरोध जनाएका छन् ।

गैँडा हेर्नका लागि आउने पर्यटकको हबकोरुपमा विकास भैरहेको नवलपुर क्षेत्रबाट विभिन्न बहानामा स्तान्तरण गरीनु दुःखद भएको होटल ब्यवसायी संघ नवलपुरका अध्यक्ष संतोष रानाले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully