अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीयलाई रोजगारीका अवसर, कृषि उत्पादनसहित गाउँको आर्थिक समृद्धिको बलियो आधार नै पर्यटन प्रवर्द्धन रहेको बताएका छन् ।
गुल्मीको मदाने गाउँपालिका-६ मदानेस्थित कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयोजनाको स्थलगत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले स्थानीयलाई आर्थिक रूपमा बलियो बनाउने र गाउँमै बसाइँसराइ राेक्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।
अर्घाखाँची, गुल्मी र प्यूठान जिल्लालाई प्रभाव पार्ने कङ्के देउराली जलासय र बृहत्तर खानेपानी आयाेजनालाई तीन तहका सरकारले साझा याेजनाकाे रुपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनलेे बताए । लुम्बिनी प्रदेश सरकारले प्रदेशको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन सर्किट निर्माण गर्ने योजना प्रदेश सरकारले अघि सार्दै आएको छ ।
प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आसपमा जोडेर आकर्षक सर्किट निर्माण गरिने, यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे ।
‘हाम्रो प्रदेश मिनि नेपालको रुपमा परिचित छ, यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भुगोल छ । पुरातात्त्विक सम्पदाहरूको संरक्षण गरेर पर्यटकहरूलाई भित्र्याउने मुख्य संकल्प छ,’ उनले भने, ‘समृद्ध लुम्बिनी प्रदेशको आधारको रुपमा पर्यटन क्षेत्रलाई लिएका छौं । यसबाट स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउन सक्ने प्रसस्त आधारहरू छन् ।'
पर्यटन पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिएको, सरकारका विभिन्न निकाय, निजी क्षेत्र, स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । पर्यटनलाई समृद्धिको मेरुदण्डका रुपमा विकास गर्न चाहने उनलेे बताए ।
