राेल्पा — विद्यालय शिक्षालाई सुधार गर्ने उद्देश्यले रोल्पामा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । शिक्षा विकास एवं समन्वय इकाइ रोल्पाले शुक्रबार लिबाङमा आयोजना गरेको भेलामा शिक्षा सुधार गर्न अन्तरक्रिया कार्यक्रमसमेत गरियो ।
खस्कदै गएको माध्यमिक तहको शिक्षा सुधार गर्न नमुना विद्यालयका व्यवस्थापक एवं प्रधानाध्यापकले सुझाव एवं अनुभव प्रस्तुत गरेका थिए । विद्यालय शिक्षामा समानता ल्याउन, गुणस्तरीय शिक्षा बनाउन र सामुदायिक विद्यालयको व्यवस्थापनमा विशेष ध्यान दिने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको शिक्षा विकास इकाइ कार्यालयले जनाएको छ । अनुभव आदानप्रदान गर्न र गराउन भेलामा निजी विद्यालयका व्यवस्थापक र प्रधानाध्यापकलाई समेत उपस्थित गराइएको थियो ।
भेलामा लगातर ६ घण्टासम्म अन्तरक्रिया र विद्यालयको शिक्षा सुधार गर्ने उपायसम्बन्धी छलफल समेत गरिएको थियो । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिकी प्रमुख सीता आचार्यले विद्यालयको शिक्षा खस्कँदै गएकामा चिन्ता लागेको बताइन् । ‘शिक्षा सुधार गर्न विद्यालयबाटै पहल थाल्नुपर्छ । माध्यमिक विद्यालयको नतिजा सुधार गर्न र व्यावहारिक शिक्षाको प्रवर्द्धन गर्न भेला र अन्तरक्रिया आवश्यक हुने भएकाले निरन्तरताको खाँचो छ,’ उनले भनिन् ।
जिल्लाको नमुना मानिएको बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन पोखरेलले लामो प्रयासपछि मात्रै विद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउन सफल भएको अनुभव सुनाए । ‘विद्यालयको शिक्षा सुधार गर्न पर्याप्त साधनस्रोत, विज्ञ एवं गम्भीर जनशक्ति, सामाजिक सदभाव्, सामुदायिक भावनाको उच्च सम्मान, नयाँ र प्रविधिमैत्री अध्यापनको व्यवस्था हुनु राम्रो हो,’ उनले भने ।
रोल्पा नगरपालिकाभित्रकै उत्कृष्टमध्येको एक राष्ट्रिय माविका प्रधानाध्यापक लीलाधर पन्थीले विद्यालयलाई घरजस्तै प्रेम गरेर विद्यार्थीमैत्री बनाउन सकेकाले नमुना विद्यालय बन्न सफल भएको अनुभव सुनाए । ‘सीमित साधनस्रोत भएर पनि शिक्षक र अभिभावको नियमित मिहिनेतले विद्यालयको वातावरणलाई शिक्षामैत्री र व्यावहारिक बनाउनसफलता मिलेको हो,’ उनले सुनाए ।
रोल्पा नगरकै अर्को उत्कृष्ट विद्यालय कोटगाउँस्थित नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक कृष्ण पुनले अभिभावक र शिक्षकको मिहिनेतबाट विद्यालयको शिक्षालाई समयसापेक्ष बनाउन सकेको अनुभव सुनाए ।
अन्तरक्रियामा रोल्पा नगरपालिका लगायत पूर्वी रोल्पाका तीन गाउँपालिकाहरू सुनछहरी, लुङ्ग्री र सुनिल स्मृति गाउँपालिकाका करिब ४० माध्यमिक विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो । अधिकांश प्रधानाध्यापकहरूले विद्यलायको गतिविधि, अवस्था र शैक्षिक अवस्था सुधार गर्ने उपायबारे प्रस्तुतीकरण समेत दिएका थिए ।
जिल्लाका पश्चिमी विद्यालयका प्रधानाध्यापकहरू बीच दुई दिनपछि घर्तीर्गाउँमा भेला आयोजना गर्ने तयारी रहेको शिक्षा विकास एवं समन्वय इकाइ प्रमुख लालबहादुर घर्तीमगरले बताए । प्रमुख जिल्ला अधिकारीले जिल्लाको शिक्षा सुधारमा सबै स्थानीय तहको प्रयासले साथ दिने अपेक्षा गरिएको बताए । रोल्पा नगरका प्रमुख सुरेन्द्र घर्तीमगरले विद्यालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन बजेटको व्यवस्थापन गरिएको बताए ।
भेलामार्फत जिल्लामा शिक्षा सुधार गर्ने कार्ययोजना र उद्देश्यसहित ३० बुँदे रोल्पा शैक्षिक प्रतिबद्धता २०८१ घोषणा गरिएको छ ।
विद्यालयमा जंकफुड पूर्ण रूपमा निषेध गर्न, राम्रा अभ्यास संचालन गर्न, विद्यालयलाई विद्यार्थीमैत्री र विद्यार्थीहरूलाई सिर्जनशील र प्रतिभावान बनाउन शिक्षक र अभिभावकले हरदम प्रयास गर्नेतर्फ ध्यान दिन प्रतिबद्धतापत्रमा सुझाव दिइएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूति गराउन हरेक शैक्षिक सत्रमा विद्यालय खुल्नुअघि नै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावकसँग घरदैलो अभियान चलाउन पनि आग्रह गरिएको छ । साथै हरेक विद्यार्थी र विद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने र अभिभावकीय नेतृत्व गर्न स्थानीय तहसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।
रोल्पामा ९० माध्यमिक विद्यालय रहेका छन् ।
