लुम्बिनी — नेपाल र भारतका संरक्षणकर्मी, चराविद्, प्राणीशास्त्री र सरकारी अधिकारीहरूले मनमोहक र चित्ताकर्षक पन्छी सारस संरक्षणका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
डब्लूडब्लूएफ नेपाल र इन्टरनेसनल क्रेन फाउन्डेसन, अमेरिकाको सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा लुम्बिनीमा आयोजित तीनदिने सारस संरक्षणका लागि इन्डो नेपाल ट्रान्सबर्डर डाइलगका सहभागीले मिलेर अघि बढ्ने सहमति गरेका हुन् ।
विश्वकै दुर्लभ पन्छी सारस संरक्षणका लागि सीमावर्ती क्षेत्रमा सचेतनामूलक अभियान चलाउने र सारस संरक्षणका राम्रा अभ्यास र सिकाइ आदानप्रदान गरेर काम गर्ने बताइएको छ । त्यस्तै सीमा क्षेत्रमा सारसका जोखिमहरू कम गर्न मिलेर काम गर्ने तथा दुर्घटना र समस्यामा परेको सारसको उद्धार गर्ने तथा सीमा क्षेत्रमा भएका त्यस्ता घटनाको सूचना आदानप्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा इन्टरनेसनल क्रेन फाउन्डेसन दक्षिणपूर्वी एसिया कार्यक्रम निर्देशक डा. ट्रिप्ट ट्रान, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट हरिभद्र आचार्य, डब्लूडब्लूएफ नेपालका पाटनरसिप प्रोग्राम प्रमुख राजेन्द्रएन सुवाल र भारतको गुजरातमा संचालित सारस विशेष संरक्षण कार्यक्रमकी निर्देशक डा. जीतेन्द्रर नौरले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 
त्यस्तै दुई देशमा भइरहेका सारसको अध्ययन, अनुसन्धान र अनुगमनका विधि र प्रक्रिया, संरक्षणका अभ्यासहरू, दुबै देशका तराई आर्क स्लााडस्कयापमा सारस संरक्षण काम कसरी काम गर्न सकिन्छ र मानव बाहुल्य रहेको गैरसंरक्षित क्षेत्रमा सारस संरक्षण कार्यक्रम कसरी प्रभावकारी संचालन गर्न सकिन्छ भन्ने विषयमा चार समूह विभाजन गरी समूहगत छलफल गरिएको थियो । त्यस्तै कार्यक्रममा दुई देशले सारस संरक्षण कसरी गर्न सक्छन् भन्ने विषयमा इन्टरनेसनल क्रेन फाउन्डेसनका एसिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले प्यानल छलफल गरेका थिए ।
प्यानल छलफलमा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकाल र वरिष्ठ चराविद् डा. हेमसागर बराल तथा भारतका तर्फबाट युनिभर्सिटी अफ लखनउका प्रोफेसर डा. अमृता कनौजिया र डब्लूडब्लूएफ भारत सिनियर ल्यान्डसक्याप कोअडिनेटर डा. मुदीत गुप्ता सहभागी थिए ।
अहिलेसम्म दुई देशले बाघ, हात्ती र गैंडालगायतमा विषयमा छलफल र संरक्षणका कार्यक्रम गर्दै आएकामा पहिलो पटक चराका विषयमा छलफल थालेर सीमा क्षेत्रलाई चरामैत्री बनाउन थालिएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरि शर्माले बताए ।
कार्यक्रममा नेपालका कञ्चनपुरदेखि चितवनसम्म सारस पाइने जिल्लाका डीएफओ, वार्डेन, संरक्षणकर्मी, अनुसन्धानकर्मी र स्वयंसेवी सहभागी थिए । त्यस्तै भारतको उत्तर प्रदेश र गुजरातका सरकारी अधिकारी, प्राणीशास्त्री, इकोलोजिस्ट, प्राध्यापक, संरक्षणकर्मी र कृषक गरी नेपालका ९० र भारतका १० जना सहभागी थिए ।
उड्न सक्नेमध्ये सारस सबैभन्दा अग्लो चरा हो । यो निकै मनमोहक र सुन्दर हुन्छ । वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजातिमध्ये एक हो । नेपालमा करिब ७ सयको संख्यामा सारस रहेका छन् । भारतमा १५ हजारदेखि २० हजार रहेको अनुमान छ । जसमध्ये बहुसंख्यक उत्तर प्रदेशमा छन् । सारसलाई नेपालको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगर पन्छी बनाएको छ भने भारतको उत्तर प्रदेशको राज्यपन्छी हो ।
