पाल्पा — अध्यादेशमार्फत सरकार चलाउन खोज्ने सत्तापक्षका विरुद्धमा प्रतिपक्षी दल एकजुट हुने नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
अध्यादेशमार्फत सरकार सञ्चालन गर्न खोजेको आक्षेपसहित संसद्को गरिमा र सरकारमाथि नै प्रश्न उठेको उनले बताए । प्रेस सेन्टर पाल्पाले तानसेनमा बिहीबार राखेको पत्रकार भेटमा उपमहासचिव पुनले अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको टिप्पणी गरेका हुन् ।
सैद्धान्तिक रूपमा अध्यादेशमार्फत शासन चलाउने कुरा कुनै पनि हिसाबले स्वीकार्य नहुने बताए । उनले संसद् छलेर अध्यादेशबाट शासन चलाउन खोज्नेहरूलाई प्रतिपक्षी एकजुट भएकोसमेत बताए । ‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘एक सदन र अर्को सनदको बीचमा अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’
विनाकारण संसद् छलेर अध्यादेश ल्याउन खोज्नुको अभ्यासप्रति उनले प्रश्न उठाए । संसद्ले कानुन बनाउनुपर्नेमा अवहेलना गर्दै अध्यादेश जारी गर्नु भनेको सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको उनले बताए ।
दलहरुमासमेत बहस नगर्ने तर जनप्रतिनिधिको संसद्ले कानुन बनाउनुपर्नेमा कार्यकारी वा सरकारले बनाएकामा उनले सरकार जबाफदेही बन्न नसकेको उपमहासचिव पुनले बताए । सरकारलाई जवाफदेही बनाएर स्वेच्छाचारी ढङ्गले काम गर्न नदिने उनले बताए ।
संसद् र प्रमुख प्रतिपक्षीले जनताको लोकतान्त्रिक अधिकारको संरक्षण गर्ने जिम्मेवारी भएकाले सोही अनुसार नै संसद्मा जोडदार कुरा राख्ने उनले बताए ।
