दाङ — दोस्रो जनआन्दोलनका रूपमा चिनिने २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको ताप देशभर बढ्दै थियो । राजा ज्ञानेन्द्रले घोषणा गरेको स्थानीय चुनाव बहिष्कारका लागि राजनीतिक दलहरूले देशभर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा घोराहीमा पनि आन्दोलन चर्किएको थियो ।
घोराहीका उमेशचन्द्र थापा पनि २०६२ माघ २६ गते झण्डा बोकेर निर्वाचनको विरोध गर्न सडकमा निस्किए । त्यतिबेला उनी एमाले राष्ट्रिय परिषद् सदस्य थिए । जुलुस तितरवितर पार्न प्रहरी र सेना सडकभर तैनाथ थिए । सुरक्षाकर्मीले लखेट्ने र आन्दोलनकारीले विरोध गर्ने क्रम चलिरहेको थियो । त्यही क्रममा सेनाले आन्दोलनकारीमाथि गोली चलायो । सेनाको गोली लागेर थापाको ज्यान गयो । उनलाई २०६२/०६३ को आन्दोलनका प्रथम सहिद मानिन्छ ।
थापाको स्मृतिमा घोराहीमा सहिद गेट निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित थापालाई गोली हानिएकै सडकको एक छेउमा गेट निर्माण गरिएको हो । गेटमाथि थापाको सालिक ठिंग ठडिएको छ । ओहोरदोहोर गर्नेहरूले हेर्न पनि नभ्याउने उचाइमा रहेको शालिकमुनि दिनहुँ सयौं मानिस ओहोरदोहोर गर्छन् । धेरैजसो नयाँ पुस्ता र कतिपय पुराना पुस्ताका मानिसहरूलाई पनि थापाको योगदानबारे जानकारी छैन होला ।
वार्षिक रूपमा एकपटक थापाको स्मृतिमा गेटमुनि दीप प्रज्वलन गरिन्छ । कहिलेकाहीं स्मृति दिवस मनाउन पनि भुलिएलाजस्तै हुन्छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान पनि गठन भएको छ । थापाकी पत्नी लक्ष्मी श्रीमानको सपना पूरा नभएकामा उदास छिन् । उनलाई पुरानो घटना सम्झँदा पनि मन थाम्न गाह्रो हुन्छ । ‘बिर्सेको घाउ वर्षमा एकपटक फेरि सम्झनुपर्छ । कसैले गर्ने केही होइन,’ उनले निराश हुँदै भनिन्, ‘उहाँको सपना पूरा गर्नेतर्फ कोही लागेको देख्दैन ।’
थापालाई एकपटक एमालेले समानुपातिक सांसद्को सूचीमा राखेको थियो । त्यसपछि उनी कुनै राजनीतिक भूमिकामा सक्रिय हुन सकेकी छैनन् । उनी कहिले काठमाडौं त कहिले घोराही आउजाउ गर्छिन् । घोराहीको सहिद गेट र घटना भएको ठाउँले उनको मन रुवाउँछ । ‘मन रुवाउने बाहेक अरु के गर्न सकिन्छ र ?’ उनले भनिन्, ‘जसलाई पर्यो, पर्यो ।’
नेताहरूले गरिरहेको खिचातानी, राजनीतिक अस्थिरता र अनियमितताले उनको मन दुख्छ । सहिदको सपना पूरा गर्नुपर्ने नेताहरू गैरजिम्मेवार भएको प्रति उनको गुनासो छ ।
जिउँदा सहिद भन्छन्– व्यवस्था फेरियो, अवस्था फेरिएन
थापासँगै चार गोली खाएका घोराही–५ धर्नाका कृष्ण गिरी भाग्यले बाँचेका हुन् । उनलाई जिउँदो सहिदका रूपमा चिनिन्छ । उनको दायाँ खुट्टा गोली लागेर ६ ठाउँमा भाँचियो, बायाँ खुट्टामा अझै पनि ६ वटा गोलीका छर्रा छन् । छर्रा निकाल्न धेरै प्रयास गरे त सम्भव भएन । ‘अब शरीर मात्रै बाँकी छ । दुखेर बस्नै गाह्रो हुन्छ । सधैँ औषधि खाइरहनुपर्छ,’ उनले भने, ‘जनआन्दोलनको चिनोका रूपमा शरीरमा गोलीका छर्रा बोकेर बाँचिरहेको छु ।’
थापासँगै एउटै गाडीमा राखेर अस्पताल पुर्याएकामा थापा मृत घोषित भएका थिए भने गिरी उपचार गर्न सक्ने अवस्थामा थिए । ‘मलाई त सेनाले मर्यो भनेर घिसार्दै थापासँगै गाडीमा हालेर अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पतालमा डाक्टरले सास छ भनेपछि मेरो उपचार हुन पायो । मेरो ज्यान भाग्यले बाँचेको हो ।’
जीवनको प्रवाह नगरी आन्दोलनमा होमिएका गिरीले लामो समय देशमा नयाँ संविधान बन्ने र जनताको शासन आउने आशाले चोट दबाउने प्रयास गरे । देशमा व्यवस्था परिवर्तन हुँदा उनी पनि अरुजस्तै उत्साहित भएका थिए तर नेताहरूको शैली परिवर्तन नभएको कुराले दुःखी बनाएको छ । ‘हाम्रो रगत, पसिनाको बलमा व्यवस्था त फेरियो तर अवस्था फेरिएन । केही नेताहरू फेरिए, हाम्रो जीवन फेरिएन,’ उनले भने, ‘नेताहरूको शैली झन्झन् बिग्रँदै गयो । एकले अर्कोलाई गाली गर्ने, कसरी सिध्याउने भन्नेमा राजनीति घुमिरहेको छ ।’सुशासन र परिवर्तन होला भनेर सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले देशमा भ्रष्टाचार र अनियमितता नियन्त्रण नभएकामा दुःख व्यक्त गरे ।
गिरी कांग्रेस कार्यकर्ता हुन् । उनले पार्टीमा विभिन्न जिम्मेवारी माग्दा पनि पाउन सकेका छैनन् । स्थानीय तहको निर्वाचनका क्रममा वडाध्यक्षको टिकट माग्दा पनि नपाएको उनले गुनासो गरे । उल्टै अध्यक्षका उम्मेदवारले निर्वाचन हारेपछि गिरीलाई कारबाहीका लागि छानबिन गरियो । ‘मैले पार्टी र देशका लागि ज्यानको बाजी राख्दा पनि मेरो केही मूल्यांकन भएन । मैले काम गर्छु भन्दा पनि जिम्मेवारी पाइनँ,’ उनले भने, ‘अब त सबै छोडेर स्वतन्त्र रूपमा जीवन जिउने सोचमा पुगेको छु । राजनीतिले पुगेजस्तो भयो ।’
आफ्नो सम्मान नभएको पाउँदा र सहिद थापाको सपनामाथि वेवास्ता भएको देख्दा उनी गोली खाएको दिन सम्झेर भावुक हुन्छन् । ‘म त सहिदसँगै गोली खाएर मौकाले बाँचेको मान्छे हुँ । मेरो मात्रै कुरा भएन । देशमा सुधार होस् भन्ने चाहना हो,’ उनले भने, ‘सुधार होला भनेर पर्खंदा पर्खंदै यत्रो वर्ष बित्यो । अझै केही होलाजस्तो देखिँदैन ।’
