प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ : मुख्यमन्त्री आचार्य

माघ १३, २०८१

मनोज पौडेल

State government is becoming a center of citizens' trust: Chief Minister Acharya

कपिलवस्तु — लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामका बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् । कांग्रेस र एमालेका जिल्ला संयन्त्रहरुको प्रदेशस्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताएका हुन् ।

 ‘प्रदेश सरकार बन्नुअघि र बनिसकेपछि विकासको अवस्था के थियो ? एक पटक फर्खेर हेरौं । अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो,’ उनले भने, ‘प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेश नै हो ।’ 

योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउने गरी सरकारले भूमिका बढाएको भनाइ उनको छ । ‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायौं । उतिबेलाको गल्तीले अहिले समस्या परेको छ,’ उनले भने, ‘आगामी बजेट ३३ देखि ३४ अर्बको हाराहारीमा ल्याउँदा प्रदेशले लय समात्छ ।’ 

बैठकमा आएका सुझावहरुलाई सरकारले आत्मसाथ गर्दै सरकारको कामलाई गति प्रदान गर्नेगरी भूमिका बढाइरहेको बताए । ‘चालु आर्थिक वर्षको बजेट साझा दस्तावेज हो । यस वर्ष सरकारले पूरक बजेट ल्याउँदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौं,’ उनले भने, ‘योजना छनोटमा देखिएका बेथिति रोक्न पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनु परेको हो ।’ 

टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछि यसखाले निर्णय लिनुपरेको मुख्यमन्त्री आचार्यको भनाइ छ । गत वर्षको दायित्व भुक्तानी गर्ने काम भइरहेको जानकारीसमेत दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा दुवै दलका जिल्ला अध्यक्षहरुले जिल्लागत रिपोर्टिङ गरेका थिए । 

बैठकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधिसभा सदस्यलगायतको सहभागिता थियो ।

मनोज पौडेल

Link copied successfully