कोही नहुनेको भर– मानव सेवाघर

माघ १३, २०८१

दुर्गालाल केसी

Trust for those who have no one - Manav Sevaghar

दाङ — कोही गीत गाइरहन्छन्, कोही रोइकराइ गरिरहन्छन्, कोही झम्टन आउँछन्, कोही दिसापिसाब गरेको थाहा पाउँदैनन् । सामान्य मानिसको भन्दा धेरै फरक र कठिन लाग्ने यो भद्रगोल वातावरण सम्हाल्न जो कोहीलाई त्यति सहज छैन ।

परिवारले त्यागेका, घरबाट निकालिएका या अन्य विभिन्न समस्याले मानसिक रोगी हुँदै सडकमा आइपुगेका यस्ता मान्छेका आफ्नो भन्ने कोही भेटिँदैनन् । सडकमै जिन्दगी बिताउन बानी परिसकेका यस्ता अलपत्र मानिसलाई घरमा ल्याएर पाल्न कसलाई जाँगर चल्नू ? यस्तै कठिन काममा जाँगर चलाउने केही समाजसेवीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सेवा घर स्थापना गरेका छन् ।

सेवाघरमा २१ पुरुष, २६ महिला, ३ बालक र ४ बालिका गरी ५४ जना बस्छन् । तीमध्ये ४५ जना नियमित औषधि खाने मानसिक रोगी छन् । ४ महिनाको बालकदेखि ९० वर्षका वृद्धवृद्धासमेत एउटै घरमा छन् । शिरदेखि पाउसम्म जुम्रा, लट्ठा परेका दाह्री–कपाल, लामा नङ, शरीरभरि घाउ र मानसिक अवस्था असामान्य भएका यस्ता मानिसलाई सडकबाट छोपेर सेवा घरमा ल्याएर राखिएको हो । 

२०७२ को भूकम्पपछि विभिन्न अवसर खोज्दै हेटौंडाबाट काठमाडौं उक्लेकी सुमित्रा चौलागाईंले भूकम्पबाट प्रभावित भएर सडकमा आएकालाई खाना खुवाउने अभियानबाट मानव सेवाको काम थालेकी हुन् । उनले मन मिल्ने केही साथी जम्मा गरेर आफ्नै नेतृत्वमा मानव कल्याण समाज स्थापना गरिन् । उक्त संस्थाले २०७५ सालदेखि सडकमा अलपत्र मानिसलाई स्याहार्न थालेको हो ।

देशभर यस्ता ६ वटा सेवा घर छन् । दाङका साथै काठमाडौंको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल, पनौती र बाराको निजगढमा पनि सेवा घर छन् । जसमा ५ सय ५ जना अलपत्र मानिसले आश्रय लिइरहेका छन् । जसमध्ये ५१ जना बालबालिका छन् । तीमध्ये ३८ जना स्कुल जान्छन् । काभ्रेको पनौतीमा ३९ जना बालबालिका राखेर छुट्टै बालशाखा स्थापना गरिएको छ । ५ वर्षको छोरा बोकेर मानवसेवा सुरु गरेकी चौलागाईंका छोरा अहिले बालशाखामै अन्य बालबालिकासँगै हुर्किरहेका छन् ।

यी सेवा घरमा कुनै पनि विदेशी लगानी र सहयोग छैन । नेपाली मात्रको मुष्ठीदानले सञ्चालन गरिरहेको र यसैगरी चलाउने योजना रहेको मानव कल्याण समाजकी अध्यक्ष चौलागाईंले बताइन् । ‘यो नेपालीले नेपालीलाई सेवा गर्ने अवसर हो । आफ्नो एक छाकबाट एक मुठी कटाएर सेवा गर्ने हो,’ उनले भनिन्, ‘यो सेवाभावले चलाएको घर हो । मानवता विकास गर्न खोलेको घर हो । अहिलेसम्म मनकारीले सहयोग गरेर नै चलेको छ ।’

विभिन्न कारणले सडकमा आएर सडकमै जीवन बिताउने अवस्थामा रहेका मानिसलाई उद्धार गरेर सेवाघरमा राख्ने गरेको चौलागाईंले बताइन् । ‘कति बच्चा आमासँगै सडकमा आएका छन् । कति सडकमै जन्मे, हुर्केका छन्, कति मानसिक रोगी भएर आएका छन्,’ उनले भनिन्, ‘कति परिवारका सबै सदस्य बितेर सडकमा आएका छन् । सडकमै बस्न बानी परेकालाई घरमा बसाउने बानी पार्न धेरै नै समस्या छ ।’

कति महिलाहरु सडकमा बस्दाबस्दै बलात्कारमा परेर गर्भवती भएका छन् । तीमध्ये कतिले सडकमै बच्चा जन्माएका छन् भने कतिले सेवाघरमा आएर जन्माएका छन् । उनीहरुको अन्य पृष्ठभूमि केही पनि थाहा हुँदैन । त्यस्ता बालबालिकाको न्वारन, पास्नी, जन्मदर्ता र नामकरण चौलागाईंले नै आमा बनेर गरिदिने गरेकी छिन् । यही क्रममा उनले आफ्नो नाम समेत बदलेर सुमी मानव बनाएकी छिन् । उनलाई अहिले सबैले सुमी मानव भनेर चिन्छन् । नाम बदल्नुको पनि छुट्टै कथा छ ।Trust for those who have no one - Manav Sevagharदाङको घोराही–१० नारायणपुरस्थित सेवाघरमा आश्रितहरू । तस्बिरहरू : दुर्गालाल केसी/कान्तिपुर

‘अलपत्र अवस्थामा भेटिएका बालबालिकालाई नामकरण र जन्मदर्ता गर्दा के थर राख्ने भन्ने समस्या भयो । जे पायो त्यही राख्न पनि भएन,’ उनले भनिन्, ‘त्यसपछि मैले मानवताको दृष्टिकोणले सबैको थर मानव राख्न थालें । मेरो नाम पनि सुमी मानव बनाएँ ।’ बालबालिकालाई सुमित्राभन्दा अप्ठेरो हुने भएकाले छोटकरीमा सुमी मामु भन्न लगाइन् । त्यसपछि उनको नाम नै सुमी मानव भयो ।

उनले आफू मात्रै होइन, कतारमा बसेर कतार एयरलाइन्समा साढे सात वर्षदेखि जागिर गरिरहेका श्रीमान् रोशन ढकाललाई समेत तीन वर्षअघि नेपाल बोलाएर मानव सेवामा लगाएकी छिन् । ‘मैले विदेश लैजान कति प्रयास गर्दा पनि उनले मानिनन् । देशमै दुःखीहरुको सेवा गर्छु भन्न थालिन्,’ ढकालले भने, ‘त्यसपछि म पनि फर्केर यतै बस्न थालें । अहिले म पनि मानव सेवाको काममै लागेको छु ।’ घरपरिवारले रोक्छन् भनेर सुमीले ६ महिनासम्म आफ्नो कामबारे कसैलाई थाहा दिइनन् । पछि सडकका पागल मान्छेहरुलाई जम्मा गरेर पाल्न थालेकी छिन् भन्ने थाहा पाएपछि सबैले उनलाई पागल भन्न थाले ।

‘५०/६० जना मानसिक समस्या भएकालाई सम्हाल्न या पाल्न नसकेर छोडिदिनुपर्‍यो भने समाजमा के अवस्था होला ?’ ढकालले भने, ‘त्यस्तो बेला मेरो श्रीमतीलाई कसरी बचाउने होला भन्ने सोचेर सुरुमा मलाई साह्रै तनाव भयो ।’ सेवाघर चलाउन अहिले पनि समस्या छ । बेलाबेला आर्थिक समस्या हुन्छ । औषधि उपचार, खाना, सरसफाई लगाएतमा एक सेवा घरमा मासिक ४ लाख खर्च हुने गरेको सुमीले बताइन् ।

विभिन्न सरकारी जग्गामा सहयोग उठाएर घर निर्माण गरिएका छन् । घर धान्ने कुनै कर्मचारी छैनन् । सडकबाट आएर सेवा घरमा बसेकामध्ये सुधार भएकाहरुले नै घरभित्र काम गरिरहेका छन् । ‘यहाँ एक दुःखीले अर्को दुःखीलाई सहयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘छुट्टै कर्मचारी राख्ने खर्च छैन । आफैं मिलेर काम गर्ने हो ।’

सडकबाट उद्धार भएकामध्ये हालसम्म १ हजार ५ सयलाई परिवारमा पुनर्मिलन गराइएको छ । ‘कतिपय मरिसक्यो भनेर किरिया गरिसकेको अवस्थामा पनि घरमा फर्काइदिएका छौं । कतिले विभिन्न लास घरमा मेरो मान्छेको हो कि भनेर खोजिरहेको बेला भेट्टाइदिएका छौं,’ सुमीले भनिन्, ‘कतिले फर्केर राम्रो जीवन बिताइरहेका छन्, कमाएर सेवा घरलाई नै सहयोग पनि गरेका छन् । कति फेरि फर्केर यहीं आएका पनि छन् ।’ 

आर्थिक अभाव भएपछि यही माघ १७ देखि २४ गतेसम्म घोराहीमा महायज्ञ गर्न थालेको सुमीले बताइन् । ‘अन्य कथावाचकहरू खोजेर खर्च गर्ने अवस्था नभएपछि मैले नै कथावाचन गर्दैछु,’ उनले भनिन्, ‘महायज्ञमा दान धर्म भयो भने सेवाघर चलाउन सजिलो होला भन्ने सोच छ ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully