बैंक चोरी गर्न लागेको अवस्थामा एक व्यक्ति पक्राउ

माघ १३, २०८१

दुर्गालाल केसी

A man was arrested while trying to rob a bank

दाङ — बैंक चोरी गर्न लागेको आरोपमा शनिबार राति तुलसीपुरमा एकजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबी बैंक चोरी गर्ने प्रयास गरिरहेको बेला तुलसीपुर–१८, दुधराशका २७ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति २ बजे बैंकको गेटको ताला तोडेरभित्र पसिसकेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिए ।

बैंक चोरी हुन थालेको सूचना पाएपछि खत्रीको कमाण्डमा गएको प्रहरी टोलीले चौधरीलाई ताला तोड्ने हथौँडा, छिना र पिलाससहित पक्राउ गरेको थियो । उनी चढेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद् भएको उनले बताए । चौधरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको खत्रीले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully