कपिलवस्तु — पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनतासँग जोडिएर अघि बढ्न ‘पूर्व–पश्चिम विशेष जनतासँग अभियान’ संचालन हुने घोषणा गरेका छन् ।
पश्चिम नेपालको भ्रमण गरी राजधानी काठमाडौं फर्किने क्रममा शनिबार साँझ कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा दाहालले माओवादीप्रति जनताको आशा र भरोसा अझै पनि कायम रहेको उल्लेख गर्दै विगतमा भएका अभियानहरूमध्ये ‘जनतासँग माओवादी’ अभियानलाई उत्कृष्ट अभियान बनाउने लक्ष्यसहित अघि बढेको बताए ।
पछिल्लो १८ महिनामा माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदविरुद्धका क्रियाकलापले सकारात्मक प्रभाव पारेको बताए । पार्टीलाई सुदृढीकरण गर्दै नयाँ ढंगले अघि बढाउन हजारौं नेता–कार्यकर्ता पार्टीमा प्रवेश गराउने अभियानले माओवादीलाई जनतासँग अझ नजिक पुर्याउने दाबी गरे । पार्टीको केन्द्रीय समितिले मधेसी–मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न विशेष प्रस्ताव पारित गरेको पनि उनले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनालले वर्तमान सरकार नागरिकमैत्री बन्न नसकेको र भ्रष्टाचारलाई बढावा दिइरहेकाले मुलुक संकटमा पर्ने अवस्थामा पुगेको आरोप लगाए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रुद्र बन्जाडे र जिल्ला संयोजक विष्णु बेल्वासे लगायतले बोलेका थिए ।
