अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कर्मचारी जनशक्तिको अभाव नहुने बताएका छन् । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्ति विकासमा योगदान पुगेको आचार्यले बताए ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका-६ नरपानीमा शनिबार सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा ४ हजार ७८ कर्मचारीको दरबन्दीमध्ये १ हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताए ।
प्रदेश सरकार कर्मचारीको पक्षमा रहेकाले जनसेवाको कामलाई नियमनुसार प्रभावकारी बनाउन पनि उनले कर्मचारीलाई अनुरोध गरेका छन् ।
लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको बताए । ‘पदपूर्ति र बढुवाको काम अघि बढेको छ, जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुँदैछ,’ उनले भने, ‘उपसचिवदेखिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई अघि बढाउँछौं ।’
मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा प्रदेशबाट विनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाई स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे । शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए ।
मुलुकको विकास र समृद्धिका लागि सहिदहरुले देखेका सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री आचार्यले सहिद पार्क निर्माण गरेर सहिदहरूको योगदानलाइ स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको बताए । सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको पनि उनले बताए ।
