पाल्पा — सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति ४० प्रतिशत भएको छ । सुरुङ मार्ग आयोजनाले विज्ञप्तिमार्फत बिहीबारसम्म ४०.१८ प्रतिशत प्रगति भएको जनाएको हो । यस्तै वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग खनेर सक्न अब एक दशमलव ८ मिटर मात्र बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ । १ हजार १ सय ६ मिटरको सुरुङ मध्ये खन्नुपर्ने भाग १ हजार ८९ मिटरमै जोडिएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ८ मिटर बाँकी राखेर १ हजार ८७.२ मिटर सुरुङ खनेर सकिएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
दक्षिणतर्फ ६ सय १० र उत्तरतर्फ ४ सय ७७.२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ । ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम छ । 
प्रधानमन्त्री ओलीले रिमोट थिचेर १ मिटर ८ सय मिटर भागलाई ब्लास्ट गरिनेछ । यसअघि नै तीनवटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक १ सय ५१, दुई १ सय ६१ र तीन १ सय ३० मिटर टनेल रहेको छ ।
सुरुङमार्ग र बाहिरी भागको सुरक्षाको कामका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको छ । यहाँ इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा काम भइरहेको छ ।
