सगरमाथा नाघेर ८ वर्षपछि जगदीशपुर पुगे खोयाहाँस

माघ १०, २०८१

मनोज पौडेल

Khoyahans reached Jagdishpur after 8 years after climbing Mount Everest

कपिलवस्तु — विश्वकै अग्लो स्थान सगरमाथा नाघेर ६ वटा खोयाहाँस जगदीशपुर पन्छी आरक्ष आइपुगेका छन् । ८ हजार ८४८ मिटर अग्लो चुचुरो नाघेर खोयाहाँसको समूह समुन्द्री सतहको ९५ मिटरमा रहेको जगदीशपुर ताल आइपुगेको हो ।

यतिबेला हाँसले तालमा विचरण गरिरहेका छन् । चरा गणना गर्ने क्रममा चराविद् हठन चौधरी नेतृत्वको टोलीले गत सात खोयाहाँस देखेको हो । एक दशकयता तालमा चरा अवलोकन गर्दै आएका उनले सगरमाथा चुचुरोभन्दा माथिको उचाई छिचोल्दै आएको चरा जगदीशपुरमा पहिलो पटक देख्दा निकै खुसी लागेको बताए ।

‘माइनस तापक्रम हुने अत्यधिक चिसो ठाउँबाट उड्दै आएर सामान्य तापक्रम भएको जगदीशपुरमा खोयाहाँस रमाउन सक्नुले यहाँको विविधता उत्कृष्ट भएको देखाउँछ,’ उनले भने, ‘यसले जगदीशपुर रैथाने, सिमसार, फामलेन र उच्च हिमाली भेगका चराको आश्रयस्थल बनेको देखाउँछ ।’

चरामै सेटेलाइट ट्याग र सानो भिडियो क्यामरा जडान गरेर एक अमेरिकी संस्थाले गरेको अनुसन्धानमा बसाइँ सरेर नेपाल आउने खोयाहाँस सगारमाथा माथिबाट आउने गरेको पुष्टि भएको चराविद् चौधरीले बताए ।जाडोका बेला नोभेम्बरतिर आउने खोयाहाँस अप्रिल/मे तिर फर्कन्छ । ‘अंग्रेजीमा बार–हेडेड गूज भनिने यो पन्छी बसाइँसराइ गर्दा सगरमाथा चुचुरो भन्दामाथि ९ हजार ३ सय ७५ मिटर उचाइमा उडेर आएको अध्ययनले देखाएको छ,’ वरिठ चराविद् डा. हेमसागर बरालले भने, ‘अहिले पनि त्यही फ्लाई मार्गबाट उड्दै नेपालतिर आउँछन् ।’

उनीहरूको मुख्य बासस्थान रहेको चीनको साङहाई ताल आसपासतिर अत्यधिक चिसोले आहारा पाइदैन । त्यहीँ भएर बसाइँ सरेर नेपाल आउने गरेको उनले बताए । सगरमाथाभन्दा माथिबाट उड्ने गरेको जानकारीले विश्वकै चराप्रेमीलाई आश्चर्यमा पारेको चराविद् दिनेश गिरीले बताए ।

‘धेरै उचाईमा अक्सिजन र तापक्रम अत्यन्त न्यून हुन्छ । अझ जीवजन्तु उड्न निक्कै गाह्रौं हुन्छ । बढी उचाईमा श्वासप्रश्वासको समस्या बल्झिन्छ । तर खोयाहाँस कसरी त्यत्रो उचाईमा सजिलै उडेर आउजाउ गर्छन् सबैलाई आश्चर्य र कौतुहल बनाएको छ,’ चराविद् गिरीले भने । त्यसकारण यसलाई अद्भूत चरा पनि भनिने गरेको उनले बताए ।

‘५ हजार मिटर उचाई आसपासबाट आउँदा सुपर्ण महाचिलले आक्रमण गर्ने त्रास हुन्छ,’ उनले भने, ‘त्यही भएर पनि माथि उडेको हुन सक्छ ।’ सुपर्ण महाचिलले बसाइँ सरेर आउन कर्‍याङकुरुङलाई मुख्य आहार बनाउने गरेको उनले बताए ।

Khoyahans reached Jagdishpur after 8 years after climbing Mount Everest

निकै आकर्षक देखिने खोयाहाँसको शरीर थोरै खैरो रङको सेतो हुन्छ । टाँउको तथा घाँटीको एकतिहाइ भाग सेतो, ठुँड र खुट्टा पहेँला हुन्छन् । टाँउकोमा दुई वटा कालो धर्सा र आँखा कालो हुन्छ । पखेटाको टुप्पो हल्का कालो हुन्छ । प्रायः बग्ने खोला र नदी किनार मन पराउने यो चरा ६८ देखि ७८ सेन्टीमिटर लम्बाई र २ देखि ३ किलो तौलको हुन्छ । यसले कृषि भूमि मन पराउँछ । लगातार ७ घण्टासम्म उड्न सक्ने खोयाहाँस हेर्न भारतमा पर्यटकको ओइरो लाग्छ । तर, हामीकहाँ भने यसबारे सोधखोज छैन् ।

सन् २००८ रकेर्ड राख्न थालेपछि सन् २०१७ मा जगदीशपुरमा पहिलो पटक एक जोडी देखिएको चराविद् बरालले बताए । ‘त्यसपछि ८ वर्षपछि दोस्रो पटक अहिले ६ वटा देखिएको हो,’ उनले भने । त्यस्तै यस वर्ष कलहाँस र पहेँलो ठूँडे कलहाँस पनि जगदीशपुरमा देखिएको छ ।

सन् २०१७ मा पहिलो पटक देखिएका यी दुबै चरा आठ वर्षपछि दोस्रो पटक एउटा/एउटा देखिएको हो । साईबेरियाको आर्कटिक उत्तरी क्षेत्रबाट पहेँलो ठूँडे कलहाँस र चीनको उत्तरभाग, रुशको दक्षिणीभाग, साइबेरिया र मंगोलियाबाट कलहाँस आउँछन् । यी चरा पनि खोयाहाँससगै सगरमाथा आसपास वा हिमाल नाघेर नेपाल आउने चराविद्हरू बताउँछन् ।

जगदीशपुरमा पहिलो पटक नकटा चरा

मुलुकमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिने जगदीशपुर तालमा पहिलो पटक रैथाने चरा नकटा  देखिएको छ । चरा गणना गर्ने क्रममा तालको उत्तरी पूर्वी कुनामा एउटा रेकर्ड गरिएको हो । नेपालमा सन् १९५२ डिसेम्बरमा पहिलो पटक कैलालीमा देखिएको रेकर्ड भएको चरा ७३ वर्षपछि कपिलवस्तुमा देखिएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

राष्ट्रिय रुपमा संकटमा परेको रैथाने चरा नकटा नेपालमा बढीमा ३ सयको संख्यामा रहेको अनुमान छ । ‘कपिलवस्तुमा पहिलो पटक उक्त चरा रेकर्ड भयो,’ वरिष्ठ चराविद् बरालले भने, ‘रुपन्देहीमा भने ४५ वर्षयता देखिएको छैन् ।’ सन् १९८० फ्रेबुअरीमा पहिलो पटक रुपन्देहीको गैडहवामा तालमा भने एल अन्डरउडले देखेको नेपाल नेचर कन्जरभेसन सोसाईटीको न्यूज लेटरमा उल्लेख छ । नेपालमा पाइने ६ जातका रैथाने हाँसमध्ये सबैभन्दा ठूलो हुन्छ ।

तराईमा पाइने सिलसिले, हरिहाँस, नादुन र नकटा, पहाडमा हरियो टाउके हाँस र हिमालमा चखेवा चखेवीले बच्चा कोरल्छन् । नेपालमा सबैभन्दा बढी यो चरा कैलाली र कञ्चनपुरमा पाइन्छ । प्रजनन्का बेला भालेको नाकमा ठूलो मासु पलाउने भएकाले यो चराको नाम नकटा राखिएको हो । यो अन्य चराभन्दा फरक र आकर्षक हुन्छ ।

मनोज

Link copied successfully