जथाभावी चौपाया छाड्नेलाई ७ हजार जरिवाना

माघ १०, २०८१

सन्जु पौडेल

A fine of 7,000 will be imposed on those who leave the quadrupeds randomly

तिलोत्तमा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले  आफूले पाल्दै आएका चौपाया जथाभावी छोड्नेलाई ७ हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको छ । नगरमा छाडा गाईबस्तु बढ्न थालेपछि नियन्त्रणका लागि पालिकाले गत सातादेखि व्यवस्थापन अभियान सञ्चालन गरिरहेको छ ।

अभियानअन्तर्गत बिहीबारसम्म ७८ वटा गाईबस्तुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले बताए । त्यसमध्ये छाडा चौपाय आफ्नो भनी दाबी गर्न आएका २ जनालाई ७ हजार रुपैयाँका दरले जरिवाना गरेर गाईबस्तु जिम्मा लगाइएको उनले बताए ।

बजारमा छाडा रूपमा हिंडिरहेका चौपायालाई नियन्त्रणमा लिएर अस्थायी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँबाट कपिलवस्तुको वांणगगा नगरपालिका वडा नम्बर २ मा रहेको गौशालामा लगेर व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

छाडा चौपायाले सडकमा सवारीसाधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न अभियान नै चलाउनु परेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

‘विशेष गरी छाडा गाईबस्तुले नगरमा बढी समस्या ल्याएका छन्,’ उनले भने, ‘छाडा गाईबस्तुका कारण सडक दुर्घटनाको जोखिमका बढ्नुका साथै तिनको मलमुत्रले नगर दुर्गन्धित र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्दै आएका छन् ।’

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully