रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका-१ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका-७ र १४ का सर्वसाधारण आवागमन गर्ने भालखाप्चेस्थित मूल बाटो गत बर्खामा भत्किएपछि सानी भेरी नदीमा काठको अस्थायी साँघु र बाटो बनेपछि तत्काललाई सहज भएको छ । साबिकको बाटो बनाउन ठूलो लगानी लाग्ने भएपछि यसो गरिएको हो ।
सिस्ने गाउँपालिकाको कुल १२ लाख लगानीमा अस्थायी बाटो र साँघु बनाइएको पालिका अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘पहिलाको बाटो भत्किएर त्यहाँ नयाँ बाटो बनाउन तत्काल सम्भव नभएकाले यसो गरिएको हो,' उनले भने, ‘स्थायी बाटो बनाउनका लागी हामीले १ करोडको लागत स्टमेटसहित संघीय सरकार समक्ष माग गरेका छौँ । उक्त बजेट नआएमा पुरानै समस्या दोहोरिने जोखिम छ ।’
जिल्ला सदरमुकाम रुकुमकोटबाट सिस्नेका १, २ र पुथाउत्तरगंगा गाउँपालिकाका ७, ८, ९ र १४ वडाका बासिन्दा आवतजावत गर्ने मूलबाटो अन्तर्गत पुथाउत्तरगंगाको–१४ स्थित भालुखाप्चेको भीरमा गत साउनमा पहिरो गएको थियो । यसपछि डोरीको सहायतामा आवतजावत गर्न थालिएको थियो भने पछि उक्त बाटोलाई केही सहज बनाइएको थियो । तर उक्त बाटोमा जोखिमपूर्ण भएकाले नदीको बहाव घटेपछि नदीकै छेउछेउबाट अस्थायी बाटो बनाएर सिधै सिस्ने-२ मा जोड्न साँघु बनाइएको हो ।
बर्खा लागेपछि फेरी नदी बढ्ने र यो बाटो नरहने भन्दै सिस्ने–२ का पूर्व वडाध्यक्ष जीवन केसीले यसको स्थायी समाधान खोजिनुपर्नेमा जोड दिए । ‘हामीले सकेको पहल गरिरहेकै छौँ । तर हामीसँगै सरोकारवाला राज्य–सरकार गम्भीर हुनुपर्ने देखिन्छ,’ उनले भने, ‘अहिले बेवास्ता गरियो भने पछि फेरि हाम्रो दुःख बल्झिनेछ ।’
बगरको बाटो हाललाई सहज र छरितो भए पनि घोडा–खच्चड हिँड्न र दैनिक माल–सामान ओसार्न भने बगरबाट फेरी पुरानै बाटो उक्लिएर जानुपर्ने बाध्यता रहेको सिस्ने–२ का अर्का स्थानीय घनश्याम खड्काले बताए ।
भालुखाप्चेको भीरदेखि नजिकै रहेको पुथाउरत्तरगंगा–१४ स्थित देउखोलासम्म प¥याईएको सडक त्यसभन्दा अघिसम्म पुग्न सकेको छैन ।
देउखोलादेखि पुथाउत्तरगंगाकै त्रिवेणीसम्म १२ किलोमिटर सडक कालोपत्रे नै गर्न ६ वर्षअघि पिएस् शंकर माली जेभीले ठेक्का लिए पनि काम नगरेपछि गत असारमा सम्झौता तोडिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुम पश्चिमका प्रमुख रामआशिष शाहले बताए । यस खण्डमा नयाँ ठेक्का लगाउने प्रक्रिया थालिएको भनिए पनि त्यसले गति लिएको छैन ।
सडक नहुँदा यस भेगका स्थानीय आफैंले बोकेर र घोडा–खच्चडमा ढुवानी गरेर दैनिक उपभोग्य सामान लैजाने गरेका छन् ।
