काठमाडौँ — गुल्मीको मालिका गाउँपालिकामा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । मालिका गाउँपालिका-८ कालिमाटी निवासी २९ वर्षीय डम्बरबहादुर रोकाले ६० वर्षीय लालबहादुर रोकाको हत्या गरेको मर्भुङ्ग प्रहरी चौकीले जनाएको छ।
डम्बरबहादुरले गएराति मदिरा सेवन गरेर बुबा लालबहादुरको हत्या गरेको कुरा प्रहरी र जनप्रतिनिधिसामु स्विकारेको वडाध्यक्ष सूर्यबहादुर जिसीले बताए । परिवारमा बुबा, आमा र छोरा रहेको र सोमबार बेलुकी सबैले मदिरा सेवन गरी झगडा हुँदा डम्बरबहादुरले बाबुको हत्या गरेको उनले बताए ।
‘झगडा भएपछि उनले दाउराले टाउकोमा हानेको र ढलेपछि घरमुनि खलानमा ढुंगा तथा दाउराले पुगेको स्विकारेका छन्,’ मर्भुङ्ग प्रहरी चौकी स्रोत भन्छ, ‘मृतकको शव खुट्टा मात्र देखिने गरी पुरिएको अवस्थामा छ ।’
उनीहरू मदिरा सेवन गरेर सँधैजसो झगडा गर्ने गरेको र सोमबार हत्याको घटना भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार आमाले वृद्धभत्ता, बाबुले अपाङ्गभत्ता बुझेको र छोराले पनि काम गरेको पैसा ल्याएकोले मदिरा सेवन गरेको बताएका छन् । मृतककी श्रीमतीले छोराले बाबुलाई कुटपिट गर्न थालेपछि राति चिच्याएको तर घर एकान्तमा भएको कारण कोही नपुगेको बताएकी छन् ।
