दाङ — गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार इमर्जेन्सी कक्षको उद्घाटन गरेका छन् ।
उद्घाटन मन्तव्य व्यक्त गर्दै आचार्यले प्रदेश सरकार स्वास्थ्य चौकीको स्तर वृद्धि गरी गाउँमै गुणस्तरीय सेवा दिने वातावरण बनाउन लागिपरेको बताए । ‘गाउँमा स्थापना भएका स्वास्थ्य चौकीका स्तर वृद्धि गरी सेवा थप्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै नागरिकको स्वास्थ्यको अधिकार पूरा हुन्छ ।’
गढवा गाउँपालिकामा २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा दिने गरी इमर्जेन्सी सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।
इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको उनले जानकारी दिए । स्वास्थ्य चौकीबाट अहिले प्रसूति सेवा, भिडियो एक्स–रे, एक्स–रेलगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गरिएको उनले बताए ।
अहिले गढवामा १५ वेडको आधारभूत अस्पताल निर्माण भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएमा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने पोख्रेलले बताए ।
