कपिलवस्तु — अत्यधिक चिसो बढेपछि जिल्लाका २ स्थानीय तहले बुधबारबाट ३ दिनसम्म विद्यालयमा बिदा दिएका छन् । कपिलवस्तु नगरपालिका र यशोधारा गाउँपालिकाले माघ ९ देखि ११ गतेसम्म स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएका हुन् ।
मंगलबार सूचना प्रकाशित गरी बिदा दिइएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । ४/५ दिनदेखि घाम नलागेर कठ्याङ्ग्रिने चिसो बढेपछि बालबालिका प्रभावित भएको भन्दै विद्यालय बन्द गरिएको हो । दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुल गर्न समस्या पर्ने र बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएकाले बिदा दिइएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख पौडेलले बताए ।
त्रैमासिक परीक्षा सकिएपछि जिल्लाका ८ स्थानीय तहले १० देखि १२ दिनसम्म बिदा दिएका थिए । पुस २१ बाट उनीहरुले बिदा दिएका हुन् । तर, बिदा सकिएर विद्यालय संचालन सुरु भएपछि चिसो बढेका कारण विद्यालय बन्द गरिएको हो ।
जाडो बढेपछि जिल्लाका मुख्य बजारमा खासै चहलपहल छैन । सर्वसाधारण चोकचोकमा आगो तापेर बसिरहेका छन् । मानिस घरैभित्रै खुम्चिएर बसेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाहिर निस्किएका छैनन् ।
