बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

माघ ७, २०८१

कान्तिपुर संवाददाता

Purchase of 32 thousand quintals of paddy in Banke

बाँके — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । 

गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताए ।

'पुस १९ गतेपछि किसान आउन छोड्नुभएको छ, धेरै किसानले धान बिक्री गरिसक्नुभयो, अब यस वर्षको धान खरिद लगभग यति नै होला,'  उनले भने, 'हामीले लक्ष्य लिएअनुसार मोटा धानको कोटा पूरा गर्न सकेनौँ, मध्यम धानको भने कोटा लगभग पूरा भयो, माग गरे अनुसार र सोचे अनुसार मोटा धान आएन तर मध्यम धान भने माग अनुसार आयो र हामीले खरिद गर्‍यौँ ।'

गत पुस १९ गतेपछि किसान आउन छाडेको, फोन पनि नगरेको तथा सम्पर्कमा नआएका कारण यसवर्ष बाँकेमा धान खरिद कार्य लगभग सकिएको उनले बताए । 

बाँकेका किसान पछिल्लो समयमा मोटाभन्दा मध्यम धान उत्पादनतर्फ आकर्षित भएको उनले बताए । गत वर्षभन्दा १५ दिन अगावैबाट धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले यसवर्ष ४० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको थियो तर मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएको थियो । 

मोटा धानको मूल्य तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा सरकारले तोकिदिएको न्यूनतम् समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार यस वर्ष मोटा धान दुई करोड ६१ लाख दुई हजार एक सय ३३ रुपैयाँ ६५ पैसा र मध्यम धान रु आठ करोड ७२ लाख ६९ हजार, उक सय ६२ रुपैयाँ २३ पैसा गरी कूल रु ११ करोड ३३ हजार ७१ लाख २९५ रुपैयाँ ८८ पैसाको धान खरिद गरिएको हो । 

धान बिक्रीका लागि जिल्लाका छ सय ७३ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराए पनि पाँच ६८ जना किसान र पाँच वटा सहकारी संस्थामार्फत् बिक्री गर्न ल्याइएको धान खरिद गरिएको कार्यालयले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully