वृद्ध महिलाको हत्या आरोपमा दुई वर्षपछि एक महिला पक्राउ 

माघ ७, २०८१

माधव अर्याल

A woman was arrested after two years on the charge of murdering an elderly woman

पाल्पा — वृद्ध महिलाको हत्या आरोपमा दुई वर्षपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले एक महिलालाई पक्राउ गरेको छ । रिब्दीकोट–५ कुसुम खोलाकी ७८ वर्षीया भुमकुमारी आलेको हत्या आरोपमा पक्राउ पर्ने महिला रिब्दीकोट गाउँपालिका–५ हर्रे खर्क बस्ने ५४ वर्षीया निरा कुमारी लम्तरी हुन् ।

उनलाई गत २०७९ असार ३१ गते घर नजिकैको जंगलमा दाउरा खोज्न गएकी आलेको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  दाउरा खोज्न जंगल गएकी आले बेलुकीसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा हर्रे खर्क जंगलमा मृत फेला परेको परिवारले जनाएका थिए । 

घरपरिवारका अनुसार बिहान खाना खाई १० बजेतिर दाउरा खोज्न जंगल गए पनि बेलुकी अबरेसम्म घर फर्केकी थिइनन् । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लम्तरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

लामो समयदेखि अनुसन्धान भइरहेको अवस्थामा पीडित परिवारले किटानी जाहेरी दिएपछि लम्तरीलाई पक्राउ गरिएको हो । मृत महिलाको निधारमा चोट देखिएकाले हत्या भएको हुनसक्ने स्थानीय बासिन्दाले दाबी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully