पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, हिउँदेखोलास्थित भासिएको सडकमा रोकथामको काम सुरु भएको छ । सडक डिभिजन पाल्पाले गत साउन ७ गते भासिएको सडकमा ग्याबिन जाली पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङका साथै सब–बेस कार्य गर्ने गरी ठेक्का लगाएर काम सुरु गरको हो ।
हिउँदेखोलामा झन्डै ५० मिटर सडक भासिएर यातायात अवरुद्ध भएको थियो । यहाँ सडकको तल्लो भागमा पानी जमेको र त्यसलाई ड्रिलिङ गरेर सडक भित्रबाट पानी निकाल्ने व्यवस्था गर्ने गरी काम अघि बढेको सूचना अधिकारी दुर्गा गौतमले बताए । ‘सडक विभागले खटाएको विज्ञको प्रतिवेदनका आधारमा दिगो समाधानका हुने गरी कामको ठेक्का लगाएका हौं,’ उनले भने, ‘जमिनको एक्सरे गरेर पत्ता लागेअनुसार नै रोकथामको काम अघि बढेको छ ।’
सडक डिभिजनका अनुसार कन्सल्टेन्ट इन्जिनियर मधुसुधन आचार्यले गरेको अध्ययनबाट निस्किएको निष्कर्षको आधारमा नै लगत इस्टिमेट गरी ठेक्का लगाई काम सुरु गरेको हो । सडक भासिएपछि गत साउनमै कन्सल्टेन्ट इन्जिनियर आचार्यले हिउँदे खोलामा जमिनमुनिबाट पानी बगिरहेको र त्यही पानीलाई ड्रिलिङ गरेर निकाल्नुपर्ने सुझाव दिएका हुन् ।
त्यसपछि मात्र अन्य काम गरी माथिल्लो भागमा सडक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । त्यसपछि मात्र ग्याबिन जाली टेवा पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङका साथै सब–बेस कार्य गर्ने सुझाव कन्सल्टेन्ट इन्जिनियर आचार्यको थियो । ‘यस वर्ष यो सडकमा अन्य काम हुन्छ तर कालोपत्र हुँदैन,’ सूचना अधिकारी गौतमले भने, ‘एक वर्ष के कस्तो अवस्थामा हुन्छ भन्ने हेर्नुपर्ने हुन्छ ।’
सडक डिभिजनले १ करोड ९७ लाख ८२ हजार ८५० रुपैयाँको लगत इस्टिमेट गरी ठेक्का लगाएको छ । निर्माण कम्पनी आईडी कन्स्ट्रक्सन कास्कीले भ्याटसहित १ करोड ७७ लाख २८ हजार ९५६ रुपैयाँमा ठेक्का सकारेर काम सुरु गरेको छ । यहाँ गत साउनमा सडक भासिएपछि ‘ग्याबिन म्याट्रेस’ बिच्छ्याएर एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ ।
राजमार्गलाई असर गर्नेगरी झन्डै ६० मिटर सडक भासिएपछि जिओटेक्निकल इन्जिनियरको सुझावका आधारमा ग्याबिन जाली भरेर सवारी साधन सञ्चालन गरेको थियो । भासिएको सडकमध्ये २७ मिटर लम्बाइमा ४ मिटर चौडाइ र बाँकी भागमा डेढ मिटर चौडाइमा ग्याबिन जाली भरिएको छ । जालीको गहिराइ ५० मिटर रहेको छ । भासिएको स्थानमा त्रिपाल बिच्छ्याएर पहिरो रोकथामको प्रयास गरे पनि पुनः भासिएको थियो ।
‘ग्याबिन म्याट्रेस’ बिच्छ्याएपछि सडक स्थिर रहेको छ । यहाँ माथिल्लो भागमा पानी उम्रने र कमजोर भुगोल रहेको छ । सडक डिभिजनले तल्लो भागमा गत वर्ष रिटेनिङ वाल लगाएको थियो । पक्की ढलान गरेर पहिरो रोकथामका प्रयास गरे पनि भासिन छाडेको थिएन । माथिल्लो भागमा आर्थिक वर्ष २०८०/८१ मा सडक चौडा गरेर पहिरो नियन्त्रणको प्रयास गरेको थियो । यही स्थानमा वर्षौंअघिदेखि माथिल्लो भागबाट पहिरो खसिरहने समस्या छ । त्यस्तो तल्लो भागमा ६० मिटर बढी क्षेत्रमा भासिने समस्या छ । हिउँदेखोलाको माथिल्लो भागमा चुनढुंगा खानी सञ्चालनमा छ ।
पछिल्लो समय सिद्धार्थ राजमार्ग भएर अत्यधिक भार बोकेका सवारी साधन सञ्चालन हुने गर्दा पनि थप समस्या भएको हो । यही राजमार्ग भएर दैनिक ५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन् ।
