परासी — पृथ्वीचन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीमा मिर्गौलाको डायलासिस सेवा सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै उपकरण र जनशक्ति उपलब्ध गराएर पनि ठाउँ अभावको कारण सेवा संचालन हुन सकेको थिएन् ।
अस्पतालले नयाँ भवन निर्माण गरेको र पुरानो भवन खाली हुने भएपछि पुरानो भवनमा डायलासिस सेवा संचालन गर्न लागिएको हो । उपकरण जडानका लागि प्राविधिक बोलाइएको र केही दिनमा नै सेवा सुरु गर्ने पृथ्वीचन्द्र जिल्ला अस्पताल पश्चिम नवलपरासीका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहम्मद नुरुल होदाले बताए ।
जिल्लामै पहिलो पटक डायलासिस सेवा जिल्ला अस्पतालबाट सुरु हुन लागेको हो । जिल्लामा डायलासिस सेवा नहुँदा मिर्गौलाका बिरामी रुपन्देही तथा अन्य जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता छ ।
यसैबीच जिल्ला पृथ्वीचन्द्र अस्पतालले नयाँ भवनबाट सेवा संचालनमा ल्याएको छ । औपचारिकरुपमा उद्घाटन नभए पनि ५० शय्याको अस्पतालका सबै सेवा नयाँ भवनबाट नै संचालनमा ल्याइएको हो । १३ करोड ६६ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको छ ।
