लुम्बिनी प्रदेशसभाको बैठक आइतबार बस्ने

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने

माघ ३, २०८१

घनश्याम गौतम

The meeting of the Lumbini State Assembly will be held on Sunday

बुटवल — लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका छन् । 

यसअघि प्रदेशसभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन,-२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो । पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाएका थिए । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणिकरण गरेपछि प्रदेशसभाको तेस्रो बैठक बस्न थालेको हो । 

दुवै विधेयक पहिलोपटक प्रदेशसभाको चौथो अधिवेशनले २०८१ भदौ २७ र ३१ गते पारित गरेको थियो । प्रदेश प्रमुख घर्तीले सन्देशसहित असोज २२ गते फिर्ता पठाएपछि पुनः प्रदेशसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकले हुबहु पारित गरेको थियो ।

प्रदेशसभाको आइतबार तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भई कार्यन्वयनमा रहेको लैङ्गिक समानता नीति-२०८१ को बारेमा जानकारी दिने र दोस्रो बैठकमा छलफलका लागि पेश भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully