कपिलवस्तु — घरेलु र लैंगिक हिंसा प्रभावित महिला तथा बालिकालाई आश्रय दिँदै आएको साथी संस्थाले आवास गृह निर्माण गर्न सहयोग गर्ने दाता राजी राज्यलक्ष्मी राणालाई सम्मानसहित अभिनन्दन गरेको छ ।
काठमाडौंकी मनकारी दाता राणाले आवास गृहका लागि जग्गा खरिद र भवन निर्माण गर्न ५० लाख रुपैयाँ सहयोग गरेकी थिइन् । तौलिहवा–जीतपुर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–३, महितामा आवास गृह निर्माण भइरहेको छ ।
साथी संस्था जिल्ला शाखाद्वारा बिहीबार तौलिहवामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, साथी संस्थाकी केन्द्रीय अध्यक्ष सजनी पनेरु अमात्य र संयुक्त राष्ट्र्रसंघीय सिड कमिटी सदस्य बन्दना राणाले दाता राजी राज्यलक्ष्मी राणालाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
उक्त अवसरमा निर्माणाधीन भवनको प्रभु राजी भवन साथी आवास गृह नामकरण गरी ताम्रपत्र अनावरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख आचार्यले सरकारले हिंसा र समस्यामा परेका महिला र बालिकालाई दिनुपर्ने सेवा साथी संस्थाले प्रदान गरेर उदाहरणीय र सम्मानित काम गरेको बताए । अब यसको व्यवस्थित संचालनका लागि स्थानीय तहले सहकार्यको हात बढाउनु पर्ने पनि उनले बताए ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, संयुक्त राष्ट्र्र संघीय सिड कमिटी सदस्य राणा, साथी संस्थाकी केन्द्रीय अध्यक्ष अमात्य, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले दाताले गरेको सहयोगको प्रशंसा गर्दै आवास गृह संचालनमा आफूहरूको पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २००८ मा जिल्लामा सञ्चालनमा आएको आवास गृहले अहिलेसम्म २ हजार ४ सय बढी प्रभावित महिला तथा बालिकालाई आश्रय दिएको आवास गृह संयोजक विमला घिमिरेले बताइन् । कतिपय प्रभावित महिलाको उद्धार र कानुनी उपचारमा समेत सहयोग पुर्याउँदै आएको छ । कतिपय प्रभावित बालिकाको पालनपोषण र शिक्षादीक्षाका लागि सहयोग पनि गर्दै आएको छ ।
