दुध उत्पादक किसानको गुनासो : आफ्नै रकम लिन पनि किन यतिविधि सास्ती ?

डेरी सञ्चालकहरू भन्छन् : बजार भएन, आयातीत दुग्धजन्य पदार्थसँग प्रतिस्पर्धा गर्न सकिएन

माघ २, २०८१

सन्जु पौडेल

Complaints of milk producing farmers: Why so much suffering even to get their own money?

लुम्बिनी — दुध उत्पादक किसानले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । उनीहरूले भारतीय दूधबाट बनेका परिकार सजिलै नेपाल भित्रिंदा यहाँका किसानले संकलन गरेको दुधले बजार नपाएको बताएका हुन् ।

रूपन्देही जिल्लाका खुला नाका हुँदै भारतबाट दुध र दुधजन्य पदार्थ सहजै यहाँका बजारमा उपलब्ध भएकाले आफूहरूले संकलन गर्ने दुध र बनाउने परिकारको मूल्य महँगो मानेर व्यवसायी र ग्राहकले नकिन्ने गरेको किसानले दुखेसो पोखे । साथै उनीहरूले दुध बेचेर पाउनुपर्ने भुक्तानी रकम बेलैमा नपाउँदा गाईवस्तु पाल्न पनि धौधौ पर्न लागेको सुनाए । 

श्री सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अधिकांश किसानले हरेक दिन आफूहरूले मिहिनेत गरेर बिक्री गरेको दुधको रकम नपाएपछि भएका गाईभैंसी बिक्री गरिदिने र आफैंले पनि दुध किनेर पिउने स्थिति आइसकेको बताए । 

सैनामैना वडा नं. ११ मा रहेको श्री सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले सहकारीले उद्योग नै संचालन गरी परिकार बनाएर बजारमा लैजाँदा समेत पूर्ण रूपमा बिक्री नभएपछि किसानले सरकारले आफूहरूको हितमा भन्दा पलायन गराउनेतर्फ केन्द्रित भएको आरोप लगाए । ४ सय ९ जना सेयर सदस्य रहेको सहकारीले दैनिक ४ हजार ५ सय लिटर दुध संकलन गरी बुटवल र आसपासका बजारमा पुर्‍याउँदै आएको छ । 

‘गर्मी मौसममा दुध उत्पादन कम हुने तर खपत बढी हुने भएकाले बिक्री गर्न गाह्रो पर्दैन,’ अध्यक्ष तिलकराम घिमिरेले भने, ‘जाडो मौसममा उत्पादन धेरै हुने र बजार कम हुने समस्या छ ।’ किसानले तीन महिनामै पाउनुपर्ने भुक्तानी बापतको पैसा १ वर्षसम्म नपाउनु तर पनि दुध दुहेर सहकारीमार्फत बजारमा पठाउन बाध्य हुनु विडम्बना भएको उनले बताए । 

गर्मीमा मिठाईका परिकार र आइसक्रिमसमेत बनाएर बेच्ने गरेकामा जाडोयाममा ती २ उत्पादन बन्द गरेको उनको भनाइ छ । घिमिरेले दुधभन्दा मासुजन्य खाद्यान्न बढी रोजाइमा पर्नुले पनि आफूहरूले गाईभैंसी पालन गर्नु चुनौतीपूर्ण बनेको बताए । बेलाबेलामा बजारमा पुग्दासम्म दुधको फ्याट घट्दा व्यवसायीले गलत प्रचार गरिदिने, ग्राहकले खरिद गर्न नमान्ने समस्याले दुध पोख्नुबाहेकको विकल्प पनि नरहने गरेको उनले बताए । 

किसान लीलादेवी ज्ञवालीले कृषिप्रधान देश मानिएको नेपालका नागरिकले गाईबस्तु पालेर जीविका चलाउने कुरा सोंच्न नहुने बताइन् । उनले विगतमा दुध उत्पादन गरेर घर–घरबाटै बिक्री हुने गरेको सम्झँदै किसानका लागि संचालित सहकारीबाट संकलन गरी पठाउँदा ठूला बजारमा समेत नबिकेर फ्याँक्ने अवस्था आउने गरेको बताइन् ।Complaints of milk producing farmers: Why so much suffering even to get their own money?

‘बिहान साढे ४ बजे गाडी दुध लिएर बुटवल जाने भएकाले ३ बजेबाट दुध दुहुन बस्ने, जाडो, गर्मी भन्न नपाइने,’ उनले भनिन्, ‘त्यति दुःख गरेर दुहेको दुध फिर्ता आउने, पोख्ने अवस्था आउँदा मन दुख्छ ।’ यो बाहेक अन्य कमाइको बाटो नभएकाले परिवारमा खानेकुराकै अभाव सिर्जना हुने पनि उनले बताइन् । 

घरघरै सिंहदरबार आएपछि स्वर्गको अनुभव हुन्छ भनेर चुनावमा आएका जनप्रतिनिधिले समेत किसानलाई दुधको मूल्य ९३ पैसा मात्र तोकिदिंदा दुःख गरेर खानेका लागि कोही नहुने रहेछन् भन्ने भान भएको ज्ञवालीले बताइन् । केही नभए पनि स्थानीय सरकारले २ रुपैयाँसम्म रकम किसानलाई दिनेगरी मूल्य तोकिदिनुपर्ने उनको भनाइ छ । विगत १ वर्षदेखिको भुक्तानी रकम नपाएकी उनले यस अवधिमा दाना किन्दा, घाँस किन्दा, गाईबस्तुको औषधि उपचारमै लाखौं खर्च भइसकेकाले पाउनुपर्ने पैसा मात्र पाए पनि खुसी लाग्ने जनाइन् ।

त्यस्तै, किसान टीकाराम पाण्डेले ‘सरकारले चलाएको डीडीसीले दुध पर्याप्त दिनुहोस्, हामी किन्छौं’ भनेर मागेपछि आफूहरूले लगेको तर एक्कासि पैसा दिन छोडेको बताए । उनले किन यसो गरेको भनेर सोध्दा दुध राखेर बिक्री नहुने भएकाले घ्यु बनाइयो, घ्युको स्टक धेरै भयो, बजारमा बिकेन, बिकेपछि मात्र भुक्तानी दिन सकिने भयो भनेर आलटाल गर्ने पुरानो भोगाइ सम्झिए । 

सालझण्डी सहकारीको दुध भनेर डीडीसीले खुब माग गर्ने दुध एक्कासि ‘अबदेखि नल्याउनुहोस्, किन्दैनौं’ भनेपछि आफूहरू अलमलमा परेको उनले सुनाए । ‘१० टन घ्यु छ भन्ने डीडीसीमा गएर हेर्दा १० क्विन्टल पनि देखिएन,’ उनले भने, ‘भुक्तानी पाउन धर्ना बसियो, कर्मचारीलाई स्पष्टीकरण सोधियो, तर उही त हो, हामी किसान परियो, हाम्रा कुरा सुन्ने, हामीलाई साथ दिने कोही पनि छैन भन्ने भएपछि जहाँ बजार छ, त्यहीं लौन दुध खरिद गर्नुहोस् भनेपछि व्यवसायीले किन्न थाले ।’ 

२०५० सालमा आफूहरूले सालझण्डीमा सहकारी स्थापना गरेर पहिलो वर्ष नै ४९ जना सेयर सदस्यबाट ४३ हजार ३० लिटर दुध संकलनबाट सहकारी सुरु गरेको संस्थापक अध्यक्षसमेत रहेका पाण्डेले जानकारी दिए ।

यो मात्र नभई दुधको पाउडर बनाई बजार पुर्‍याउँदा भारतीय पाउडरको बिगबिगी रहेकाले आफूहरूको उत्पादन ओझेलमा परेको वर्तमान अध्यक्ष तिलकराम घिमिरेको भनाइ छ । उनका अनुसार प्रदेश सरकारले २०७९/८० मा दुध उत्पादक किसानलाई दिने भनेको अनुदानबापतको २ रुपैयाँ पनि कटौती गर्‍यो । उसले नगरपालिकाले पनि दिइरहेकाले बरु उसैसँगको सहकार्यमा ९३ पैसालाई २ रुपैयाँ पुर्‍याइदिने मौखिक आश्वासन दिई कार्यविधि नै नरहेको बताएपछि आफूहरू मर्कामा परेको बताए । 

सरकारले पशु बिमाबापत दिने भनेको रकम बिमा कम्पनीले विभिन्न बहानामा आलटाल गरेर नदिने गर्दा समेत आफूहरूलाई अप्ठ्यारो मात्रै भोग्नुपरेको अध्यक्ष घिमिरेले बताए । हाल उक्त सहकारीबाट संकलित दुधबापत बजारमा उठ्न बाँकी १ करोड ६० लाख रुपैयाँ छ । सहकारीले १० भन्दा बढी गाईबस्तु पालिरहेका किसानलाई विशिष्टकृत र अन्यलाई सामान्य तरिकाले विभाजन गरी दुध संकलन गरिरहेको छ । यतिमात्र नभई कोरोनाका बेला भएको लकडाउनमा सहकारीले ४३ हजार लिटर दुध निःशुल्क बाँडेको समेत उनले बताए । 

सैनामैना र कन्चन गाउँपालिकामा गरी ६ वटा संकलन केन्द्र रहेको यस सहकारीले ६ वर्षदेखि दाना उद्योगसमेत संचालन गरेको छ । ३६ लाख लागतमा स्थापना भएको यस उद्योगबाट उत्पादित दाना किसानलाई अनुदानमा प्रदान गर्ने गरिएको घिमिरेले जानकारी दिए । किसानको दुध बिक्री नहुनुमा मौसम, व्यवसायी र ग्राहकको मागबाहेक घटिरहेको जनसंख्याले पनि समस्या पारेको उनले बताए । सहकारीको हालसम्मको कुल सेयर पुँजी १ करोड ५ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully