रुरु क्षेत्र कालीगण्डकी नदी किनारमा मकर मेला 

माघ १, २०८१

माधव अर्याल

Makar Mela on the banks of Kaligandaki river in Ruru region

पाल्पा — पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु क्षेत्र रिडीमा लाग्ने माघे संक्रान्ति मेला भर्न मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजन पुगेका छन् ।

नेपालको चारधाममध्ये एक रुरु क्षेत्र रिडीधाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गर्छ । मेलाका लागि पाल्पा, गुल्मी र स्याङ्जातर्फ स्टलहरू तयार पारिएको छ । कालीगण्डकी नदीमा नुहाउने र पाल्पाको तानसेन नगरपालिका-१४ अर्गलीमा रहेको ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईका अनुसार तीन वटै जिल्लाले आआफ्नो ढंगले मेला लगाउने तयारी गरेका छन् । पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजनकीर्तन, पूजापाठ, भण्डार, दान पुण्यजस्ता कार्यक्रम हुने भट्टराईले बताए ।

Makar Mela on the banks of Kaligandaki river in Ruru region

पाल्पा, गुल्मी, स्याङ्जाबाहेक अर्घाखाँची, पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, प्युठान, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङलगायतका जिल्लाबाट रुरु रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्न आउने गर्छन् । भक्तजनहरूले कालीगण्डकीमा नुहाएपछि पाल्पातर्फको ऋषिकेश मन्दिरमा पूजा गर्ने परम्परा रहेको अध्यक्ष तानसेन नगरपालिका-१४ का वडाध्यक्ष शोभाखर भट्टराईले बताए । उनका अनुसार माघे संक्रान्ति मेला भर्न पुगेका श्रद्धालुलाई खिचडी खुवाउने कार्यक्रमसमेत राखिएको छ । 

गुल्मीतर्फ उद्योग वाणिज्य संघ र रुरु फ्रेन्डस् क्लब लगायतका संघसंस्थाले ६ दिने बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको जनाएका छन् । रुरु क्षेत्र रिडीमा आउने भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने गरी हरेक वर्ष मेलाको आयोजना गर्दै आएको रुरु  फ्रेन्डस क्लबले जनाएको छ । स्याङ्जातर्फ वडाध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाए ।

Makar Mela on the banks of Kaligandaki river in Ruru region

रुरु क्षेत्रमा सेन वंशीय राजा मणिमुकुन्द सेनले काली गण्डकी नदीमा स्नान गर्दा ऋषिकेशवको साक्षात् मूर्ति फेला पारेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको किंवदन्ती छ । त्यसैले यहाँ आउने भक्तजनले कालीगण्डकी नदीमा स्नान गरेपछि भगवान् ऋषिकेशवको दर्शन गर्ने र दानपुन्य कार्यमा सहभागी हुने गर्छन् । 

रुरु क्षेत्रमा मेला भर्न जानेहरूले घरमै उत्पादन गरेका वस्तुको खरिद बिक्री गर्ने गर्छन् । रुकुमपूर्वबाट भेडाको ऊनबाट बनेका काम्बल, ढाका, राडी, पाखी, आस कोट, स्वेटरसमेत बिक्रीका लागि ल्याएका छन् । मेलामा फलफूल, तरकारी, चोयाबाट बनेका सामग्री, फलामका सामग्री, ओखर, टिमुर, गुँड, खाद्य वस्तु बिक्रीका लागि ल्याएको स्थानीय चुरामणि तिमिल्सेनाले बताए । 

Makar Mela on the banks of Kaligandaki river in Ruru region

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully