अर्घाखाँची — अर्घाखाँची प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको कार्यकक्षमा उच्छृंखल गतिविधि गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन् । सोमबार भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे, डासिराम श्रेष्ठ, मदन श्रेष्ठ र रविन परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारीलाई अभद्र व्यवहारसमेत गरेको भन्दै थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना कात्तिक १९ गतेको हो ।
भूमिकास्थान नगरपालिका–५ र ६ सीमाना खिल्जीको उदयठाँटीमा गाउँका युवा, क्लब, विभिन्न समूहको संयुक्त देउसीभैलो सञ्चालन भएको थियो । सन्धिखर्कबाट प्यूठानतर्फ जाँदै गरेको ना ३ ख २४७१ नम्बरको बस अनियन्त्रित रुपमा भैलो खेलिरहेका कलाकारमाथि गएपछि बसले किच्दा दुई जनाको घटनास्थलमै ज्यान गयो । ३७ घाइते भए, अरु कलाकार भागेर ज्यान जोगाए ।
भएको बसले किच्दा ७२ वर्षीय रुनी खनाल र २२ वर्षीय तारा श्रेष्ठको जनाको घटनास्थलमै मृत्यु भएको थियो । कात्तिक २० गते घाइते बेल्वासे सहितका गाउँलेको ठूलो समूहले घटनाको प्रहरीले चासो नदेखाएको, ढिलासुस्ती गरेको, फरार चालकलाई नियन्त्रणमा नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको भेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरे । विरोधमा भूमिकास्थान नगर प्रमुख झविलाल थापा, बालकृष्ण बञ्जाडे लगायतको राजनीति दलका नेतासमेत सहभागी थिए ।
प्रशासन कार्यालय गेटमा सानो समूहमा रहेका प्रहरीलाई धकेलेर आन्दोलनकारी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको कार्यकक्षमा प्रवेश गरे । सीसी टिभीमा स्पष्ट देखिने गरी कार्यकक्षमा अर्यालमाथि अभद्र व्यवहार गर्दै उच्छृंखल गतिविधि गरेकाले सोमबार चार जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अरु केहीलाई नियन्त्रणमा लिइने प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
गेट अगाडि नाराबाजी गरेको कार्यकक्षको टेबल र ढाका हानी शान्तिविरुद्ध गतिविधि गरेकोले नियन्त्रणमा लिएको उनले बताए । चार जना युवालाई प्रहरीले दुई महिना १० दिनमा नियन्त्रणमा लिएको हो । उनीहरुलाई शान्ति विरुद्धको गतिविधिमा कारबाही गरिने मल्लले बताए । नगरप्रमुख झविलाल थापाले पक्राउप्रति आपत्ति जनाएका छन् ।
घटनालाई प्रहरी प्रशासनले चासो नदिएको, सत्यतथ्य छानबिनमा उपेक्षा गरेकाले बसमा किचिएर ज्यान जोगाएका घाइते र स्थानीयले आक्रोशित रुपमा न्यायका लागि विरोध प्रदर्शन गरेकोलाई उच्छृंखल गतिविधि भन्दै घटनाको लामो समयपछि पक्राउ गर्नु बेठिक भएको उनको तर्क छ ।
स्थानीयले भने न्याय माग्न गएको विषयलाई प्रहरी प्रशासनले गलत ढंगले व्याख्या गरेको भन्दै आपत्ती जनाएका छन् ।
