बर्दिया — पूर्व–पश्चिम राजमार्गअन्तर्गत ठाकुरबाबा नगरपालिका–२ बलाती चोकमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार दुई मोटसाइकल एकापसमा ठोक्किँदा सख्त घाइते बनेका ठाकुरबाबा–२ का ५२ वर्षीय दीपबहादुर बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
‘बस्नेतले चलाएको भे११त ८२९२ नम्बरको मोटरसाइल र विपरीत दिशाबाट आएका २१ वर्षीय दीपेश गिरीले चलाएको भे त ४७३८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो,’ उनले भने, ‘दुर्घटनाका क्रममा ठाकुरबाबा नगरपालिका–२ का ७५ वर्षीय रामबहादुर खड्का, दानबहादुर खड्का र गिरी घाइते भएका छन् ।’
घाइतेमध्ये मोटरसाइकल चालक गिरी र दानबहादुरलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।
