राजापुरमा माघीको अवसरमा महोत्सव 

पुस २७, २०८१

कमल पन्थी

A festival on the occasion of Maghi at Rajapur

बर्दिया — उद्योग वाणिज्य संघ बर्दिया, राजापुरको आयोजनामा थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीको अवसर पारेर पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ  ।

राजापुर–४ सरस्वती सामूदायिक वनको खेल मैदानमा पुस २९ देखि माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । महोत्सवमा थारु संस्कृति झल्कने कला, थारु समुदायका विभिन्न खाने परिकारलगायत गीत, नृत्य हुनेछन् । करिब ७० लाखको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ । 

महोत्सवका लागि 'बर्दिया घुम्न जाऔं, पर्यटन उद्योगलाई प्रोत्साहन गरौं,' नारा तय गरिएको छ । उद्योग, कृषि, औद्योगिक व्यापार समृद्ध बनाउन महोत्सवले टेवा पुर्‍याउने संघका अध्यक्ष केदार थापाले बताए । उनका अनुसार महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । 

पर्यटन महोत्सवमा १ सय २० वटा स्टल राखिने छ । महोत्सवमा रमाइलो मेला, थारु संस्कृति झल्कने कार्यक्रम, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतिलगायत कृषि र उद्योगमा आधारित वस्तु प्रदर्शनीमा राखिने भएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully