रोल्पामा सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

घाइते ३ विद्यार्थीलाई उपचारका लागि दाङ पठाइयो

पुस २६, २०८१

काशीराम डाँगी

Pickup van carrying oranges crashes in Rolpa, driver dies

रोल्पा — रोल्पाको माडी गाउँपालिका-१ ओतदेखि सुन्तला बोकेर नेपालगन्ज जाने क्रममा पिकअप भ्यान पल्टिँदा चालकको मृत्यु भएको छ । भ्यानमा सवार ३ बालिका गम्भीर घाइते छन्।

शुक्रबार दिउँसो साढे ४ बजेतिर  रोल्पाको त्रिवेणी गाउँपालिका-४ सिमपानी र लामपुत्लीबीचमा पर्ने सडकमा लु १ च ८६८७ नम्बरको भ्यानको ब्रेक फेल हुँदा जिप सडकदेखि करिब २० मिटरमुनि खसेको हो।  माडी-१ भिताबाङका २० वर्षीय चालक हुकुम घर्ती मगरको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार उकालोमा ब्रेक  फेल भएपछि जिप अनियन्त्रित भई तल खस्न पुगेको थियो। जुगारको नेर्पामा सञ्चालन भइरहेको सातौं पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी  भएर घर फर्किरहेका ३ छात्रा भ्यान दुर्घटनामा परेर गम्भीर  घाइते  भएका हुन्। उनीहरूले घर फर्कन लिफ्ट मागेर भ्यानमा चढेका थिए।  चालकसँगै उनीहरू च्यापिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए।

गम्भीर घाइते भएकामा त्रिवेणी गाउँपालिका-४ चक्री निवासी  १४ वर्षीया  दिलमाया घर्ती मगर, १२ वर्षीया छोरी सरिता घर्ती मगर र त्रिवेणी-२ नुवागाउँकी११ वर्षीया छोरी करुणा बाठामगर छन्। उनीहरू सबै विद्यार्थी हुन्।

चालकको शव निकालेर पोस्टमार्टमका लागि अस्पतालमा पठाउने तयारी होलेरीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा भइरहेको छ। घाइतेलाई दाङस्थित प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ।

दुर्घटनामा परेको भ्यानमा करिब १८ क्विन्टल सुन्तला रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेकाको उद्धार गर्न जुगारस्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङ नेपालीको नेतृत्वमा टोली  खटिएको थियो। 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully