भेप तस्करीका मुख्य नाइके फरार, दुई जना पक्राउ
बुटवल — राजस्व छलेर बुटवलबाट नेपालगन्ज लैजाँदै गरेको इलेक्ट्रिक चुरोट (भेप) ढुवानी गरिरहेको भेरी ट्रान्सपोर्टको गाडी राजस्व अनुसन्धान कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट नेपालगन्ज हुँदै भारत लैजाने उद्देश्यले तस्करहरूले ट्रान्सपोर्टको गाडी प्रयोग गर्न थालेको देखिएको छ ।
काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भेरी टान्सपोर्टको लुप्र३००१ ख ०११४ नम्बरको गाडीमा राजस्व छली गरी ल्याइएको ३१ लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको हो । चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई काठमाडौं, बुटवलबाट नेपालगन्ज नाका हुँदै भारत लैजाने गरिएको अनुसन्धानमा खुलेको छ । गाडीसहित कार्यालयले दुई जनालाई पक्राउ गरी थुनामा राखेको छ ।
भेप ढुवानीमा संलग्न भएको आशंकामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ घर भएका डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने र बाँके नेपालगन्जका सनाउल्लाह अन्सारीलाई पक्राउ गरिएको अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए । ‘दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘काठमाडौंबाट बुटवल हुँदै नेपालगन्ज लैजाने र त्यहाँबाट भारत तर्फ लैजाने गरेको देखिन्छ ।’
भारतमा महँगो मूल्यमा विक्री गर्ने भएकाले अहिले अन्य विभिन्न नाकाबाट नेपालगन्ज भेप पुर्याउने गरिएको खुलेको छ । कार्यालयले गोप्य सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गको बुटवलमै जाँच गर्दा भेरी ट्रान्सपोर्टको ट्रकमा २ सय पिसका दरले १३ वटा कार्टुनमा २६ वटा प्याक गरिेको अवस्थामा फेला परेको उनले बताए ।
प्रारम्भिक अनुसन्धानमा काठमाडौंबाट खरिद गर्ने डायमन्ड नेपाल इन्टरनेसनलका कर्मचारी रोजन न्यौपाने र खरिद गर्नेमा नेपालगन्जको तसनीम जनरल स्टोर्स देखिएको छ । खरिद गर्ने स्टोर्सका तर्फबाट सनीउल्लाह अन्सारी पक्राउ परेका छन् । खरिद गर्ने फर्म भने उनको श्रीमतीको नाममा रहेको छ । उनीहरू दुई जना पक्राउपछि उनीहरूकै सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट १९ हजार पिस र काठमाडौंबाट ८६ हजार पिस भेप पनि राजस्व अनुसन्धान विभाग काठमाडौंको टोलीले पक्राउ गरिसकेको छ । त्यसले पनि ठूलो परिणाममा चीनबाट भेप तस्करी भइरहेको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जनाएका छन् ।
देशका विभिन्न नाकाबाट ठूलो परिणाम भेप तस्करी भइरहेको देखिए पनि यसका मुख्य विक्रीकर्ता र भारतमा खरिद गर्ने व्यापारी फेला परेका छैनन् । अहिले पक्राउ परेका दुवै जनाबाट मुख्य तस्करको पनि खोजी भइरहेको कार्यालय प्रमुख घिमिरेले बताए । ‘अहिले पक्राउ परेका दुवै जना कर्मचारीको रूपमा प्रयोग भएका देखिन्छन्,’ उनले भने, ‘मुख्य व्यापारीको पनि खोजी जारी छ ।’ राजस्व अनुसन्धानको बुटवल कार्यालय र काठमाडौंबाट विभागले पनि अनुसन्धान गरिरहेको उनले बताए ।
राजस्व अनुसन्धानको बुटवल कार्यालयले २६ सय पिस भेपको ३१ लाख मूल्य कायम गरेर शतप्रतिशत जरिवानासहित ६२ लाख रुपैयाँ बिगो बमोजिम धरौटी माग गरिएको कार्यालयका अनुसन्धान अधिकृत राजबहादुर विष्टले बताए । ‘२ हजार ६ सय पिस ल्याउँदा एक सय पिसको मात्र बिल काटिएको देखिन्छ,’ उनले भने, ‘त्यसले राजस्व छली प्रस्ट भएको छ, थप अनुसन्धान जारी छ ।’
बरामद भएको बिलअनुसार खरिद मूल्य प्रतिपिस १ हजार ५० रुपैयाँ राखिएको छ । तर उक्त भेपको सुरु खरिद मूल्य ८ डलर रहेको र त्यसमा नेपालमा लाग्ने अन्य कुनै पनि शुल्क उल्लेख नरहेको कार्यालयले जनाएको छ ।
