शुद्धोधन गाउँपालिकाले गर्‍यो नाम परिवर्तन

पालिकाको नाम अब ‘शुद्धोदन’

पुस २५, २०८१

घनश्याम गौतम

Suddhodhan rural municipality changed its name

बुटवल — रूपन्देहीको शुद्धोधन गाउँपालिकाले नाम संशोधन र पालिकाको दीर्घकालीन सोच परिवर्तन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले स्थापनाका समयमा पालिकाको नाम भगवान् गौतमबुद्धका पिता शुद्धोधनका नाममा नामकरण गर्ने निर्णय गरेको थियो । तर, नाममा व्याकरणीय अशुद्धता रहेको भन्दै नाम परिवर्तन गरी ‘शुद्धोदन’ राख्ने निर्णय गरेको हो । यसअघि चलनचल्तीमा पालिकाको नाम ‘शुद्धाधन’ लेख्ने गरिएको थियो । 

गाउँपालिकाको १७ औं अधिवेशनको तेस्रो बैठकले नाम र पालिकाको दीर्घकालीन सोच परिवर्तन गर्ने निर्णय सर्वसम्मतले पारित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले बताए । 

गाउँसभाको बैठकमा अध्यक्ष विष्णुप्रसाद बस्यालका तर्फबाट प्रवक्तासमेत रहेका कार्यपालिका सदस्य केशवप्रसाद अधिकारीले गाउँपालिकाको नाममा शुद्धीकरण तथा दीर्घकालीन सोचमा परिमार्जन गर्नेसम्बन्धी प्रस्ताव पेस गरेका थिए । 

पालिकाको नाम ‘शुद्धोधन’ बाट ‘शुद्धोदन’ र पालिकाको दीर्घकालीन सोंच ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार : सुशासन र समृद्ध शुद्धोधन गाउँपालिकाको मुख्य आधार’ लाई परिवर्तन गरी ‘आर्थिक विकासमा प्रवर्द्धन ः समृद्ध शुद्धोदन’ बनाउने उनको प्रस्ताव थियो । उनको दुवै प्रस्ताव सर्वसम्मतले पारित भएको हो । परिवर्तन भएको नाम र सोच प्रदेश सरकारको सिफारिसमा संघीय सरकारबाट निर्णय भएपछि कार्यान्वयनमा आउनेछ ।

गाउँपालिका स्थापना गर्दा गरिएको नामकरणको अर्थ र सान्दर्भिकतालाई समेत आत्मसात् गर्दै गाउँपालिकाको नामको प्रयोगको सन्दर्भमा नाम शुद्ध बनाउने र पालिकाको दीर्घकालिन सोंच पनि परिवर्तन गर्ने निर्णय गाउँसभाले पारित गरेको अध्यक्ष बस्यालले बताए ।

‘स्थापना गर्दा महामानव गौतमबुद्धका बुबाको नामबाट गाउँपालिकाको नामकरण गरिएकामा प्रचलनमा अशुद्ध रूप आएकाले त्यसलाई शुद्धता दिलाउन गाउँसभामा पेस गरेका थियौं,’ उनले भने, ‘दुवै प्रस्ताव सर्वसम्मतले पारित भएका छन् ।’ स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४ उपदफा ३ बमोजिम प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने प्रयोजनार्थ गाउँपालिकाको नाम संशोधन गरिएको उनले बताए । 

पालिकाको १७ औं अधिवेशलने चालु आवको विनियोजन ऐनसहित गाउँपालिकाबाट बनेका १० वटा कानुन पनि अनुमोदन गरेको छ । त्यस्तै न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू, सामाजिक, आर्थिक, पूर्वाधार, वन वातावरण र सुशासन, संस्थागत गरी ५ वटा विषयगत समितिका अर्थवार्षिक प्रतिवेदनहरू पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully