भैरहवा — अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका १२ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतमा रहेका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूमाथि बैंकिङ कसुर, चोरी, लेनदेन, अंशबण्डा, सवारी ज्यान, जालसाजी र कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा सजायको फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ का जितबहादुर पाईजा र प्रकाश मल्ल, रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ का रतनअहिर यादव, कोटहीमाई गाउँपालिका-३ का बिक्रमादेवी मिश्रा, रमा शंकर मिश्रा र शिवशंकर मिश्रा, कोटहीमाई गाउँपालिका-५ का कन्हई प्रसाद गडेरिया छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका-३ का शिवशंकर कुर्मी, प्रेमप्रसाद कुर्मी, पुजारी कुर्मी र सन्दीप कुर्मी र सिद्धार्थनगर नगरपालिका-४ का राधेश्याम अहिर पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले पक्राउ गरिएका सबैजना प्रतिवादीलाई कैद तथा सजायका लागि बुधबार नै रुपन्देही जिल्ला अदालतमा पेश गरिएको बताए ।
