बुटवल–नारायणगढ सडकको दाउन्नेमा सास्ती उस्तै

पुस २४, २०८१

नवीन पौडेल

The suffering is the same in the Butwal-Narayangadh road

परासी — ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगर्दा बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिन सकेको छैन । १ सय १४ किलोमिटर लामो यो सडकको ठेक्का लागेको ५ वर्ष ५ महिनामा ५४ प्रतिशत मात्रै काम भएको छ । जसले गर्दा यो खण्डमा यात्रा गर्ने यात्रु र स्थानीयले सास्ती खेप्दै आएका छन् ।

सम्झौताअनुसार काम भएको भए बुटवलबाट नारायणगढ सडक खण्ड विस्तारको काम दुई वर्ष पहिले नै सम्पन्न भइसक्नुपर्ने हो । तर ठेकेदारको चरम लापरबाहीको कारण पुग्न तीन घण्टा लाग्ने यो सडक खण्डको यात्रा गर्न अहिले ६ घण्टा लाग्ने गर्छ ।

अझ यो खण्डको दाउन्ने खण्डमा धूलो र खाडलले गर्दा यात्रा निकै कठिनाइ हुने गरेको रुपन्देही खैरहनीका देवबहादुर थापाले गुनासो गरे । ‘धूलो र खाडलले कतिबेला दुर्घटनामा परिन्छ, थाहा हुँदैन । बस्ती भएको ठाउँमा मात्र पानी हाल्ने रहेछ,’ उनले भने, ‘सबैभन्दा बढी धूलो र दुर्घटना हुने दाउन्ने खण्डमा ठेकेदार र सरकारी पक्ष कसैको पनि ध्यान गएको छैन ।’

यात्रु मात्र होइन, यो सडक खण्ड आसपासका स्थानीयले धूलो र हिलोका कारण सास्ती खेपिरहेका छन् । व्यवसाय गरेर बसेकाहरू मास्कबिना बस्न सक्ने अवस्था छैन । यो सडकको अवस्था देखेर काठमाडौंबाट बुटवल आउजाउ गर्ने यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्दा व्यापार व्यवसायमा समेत असर पुगेको कावासोतीमा इभि चार्जिङ सेन्टर संचालन गरिरहेका विष्णु अधिकारी बताउँछन् । 

‘सडकको अवस्था राम्रो हुने हो भने २ घण्टामा पार गरिने बुटवल–नारायणगढ सडक खण्ड पार गर्न अहिले ५ देखि ५ घण्टा लाग्छ,’ उनले भने, ‘सकेसम्म यो सडक भएर यात्रा गर्न कोही चाहँदैन । वैकल्पिक मार्ग भएर हिँड्ने गरेका छन् । यो सडकको अवस्था जीर्ण हुँदा व्यापार व्यवसायमा समेत निकै असर पुगेको छ ।’

होटल व्यवसायी संघ नवलपरासीका अध्यक्ष नवराज अधिकारीको पनि गुनासो उस्तै छ । ‘पसल खोलेपछि धूलोले गर्दा बसिनसक्नु हुन्छ । राजमार्गसँग टाँसिएका होटल क्षेत्र दाउन्ने बर्दघाट, सुनवल क्षेत्रका होटल व्यवसायी मारमा परेका छन्,’ उनले भने, ‘राजमार्गमा धूलो र हिलोले गर्दा यात्रु तथा ग्राहकले रोकेर आनन्दले खाना नास्ता खानसमेत नपाउने अवस्था आयो ।’ 

सडक निर्माणका क्रममा बनेका खाडल नपुर्ने तथा नियमित सडकमा पानी नराख्दा यात्रु धूलो र खाल्टाखुल्टीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । समस्या समाधानका लागि पूर्वी र पश्चिम नवलपरासीका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदासमेत कामले तीव्रता लिएको छैन । 

चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना, निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि म्याद थप भएको हो ।

२०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । म्याद थप गरेर चेतावनी पत्र काटेपछि ठेकेदारले कामलाई तीव्रता दिएको बुटवल नारायणगढ सडक आयोजना पूर्वी खण्डका सव–इन्जिनियर प्रवीण थापाले बताए । १ सय १४ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरी काम अघि बढाइएको छ ।

अहिलेसम्म ६५ किमि एकतर्फी र २२ किमि दुईतर्फी सडक कालोपत्र भएको छ । १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा आयोजना अगाडि बढेको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully