रैनादेवी गाउँसभाद्वारा चार कार्यविधि पारित

पुस २४, २०८१

माधव अर्याल

Four procedures passed by Rainadevi village council

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको १७ औं गाउँसभाको दोस्रो बैठकद्वारा चारवटा कार्यविधि पारित गरिएको छ ।

बुधबार सम्पन्न गाउँ सभाले कृषि औजार कार्यक्रम कार्यान्वयन कार्यविधि, जैविक मल वितरण कार्यक्रम कार्यान्वयन कार्यविधि, दिवा खाजा कार्यक्रम कार्यान्वयन कार्यविधि र दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ पारित गरेको हो । 

सभामा कार्यपालिकाबाट पारित यी चारवटै कार्यविधि गाउँपालिका उपाध्यक्ष युवराज थापाले टेबल गरेका हुन् । कार्यविधिउपर गाउँसभा सदस्यहरू धनबहादुर रायमाझीले सामुदायिक विद्यालयको खाजासम्बन्धी र दानबहादुर थामीले न्यायिक समिति र लक्षित वर्गका सम्बन्धमा सुझाव पेस गरे ।

गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले गाउँ सभाको सार्वजनिक लेखा समिति र अनुगमन तथा सुशासन समिति गठनका लागि गाउँसभाका सदस्य मनोनीत गरेको जानकारी गराए । उनले सार्वजनिक लेखा समितिको संयोजकमा गुनबहादुर सन्मानी र सदस्यहरू शान्ता सारु, मुना दर्जी, बुद्धबहादुर राना, तिलबहादुर रानालाई मनोनीत गरेको जानकारी गराए । 

यसैगरी अनुगमन तथा सुशासन समितिमा ओकबहादुर रास्कोटी संयोजक र सदस्यहरू भीमा खाम्चा, कमला पौडेल, दानबहादुर थामी र लोबहादुर बुढाथोकीलाई मनोनीत गरेको उनले बताए । सभामा कानुन निर्माण तर्जुमा समितिमा संयोजक कविता खनाल मनोनीत गरेको जानकारी गराइएको छ ।

गाउँसभामा वर्षभरिमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष गाउँपालिकाका लेखा अधिकृत लीलामणी बस्याललाई सम्मान गरिएको छ । गाउँपालिका अध्यक्ष भट्टराई, उपाध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सेना, गाउँपालिकाका प्रवक्ता देवेन्द्र पुन लगायतले पाल्पाली टोपी र सम्मानपत्रले सम्मान गरे ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully