पाल्पा — बुटवलदेखि गुल्मी चल्ने लु२ख ३६३१ बसका चालक कमल श्रेष्ठले सिद्धार्थ राजमार्गमै स्वास्थ्य जाँच गराउने अवसर पाए । राजमार्गअन्तर्गत तानसेन नगरपालिका–७ लामडाँडा सडकमै राखेको स्वास्थ्य जाँच शिविरबाट उनलाई प्रेसर बढी भएको थाहा पाए ।
बुटवलदेखि पोखरा चल्ने लु१ख ७२७६ का चालक कमल रावलको पनि प्रेसर बढिरहेको थाहा पाए । नियमित खानेकुरामा ध्यान दिएमा कमी हुन्छ भन्ने सुझाव पाएपछि उनी खुसी भएका छन् ।
‘नियमित स्वास्थ्य जाँच गराउने अवसर नै मिल्दैन,’ तिलोत्तमा नगरपालिका–४ रूपन्देही घर भएका उनले भने, ‘दैनिक काम भन्दै हिँड्यो अनि स्वास्थ्यका विषयमा थाहा नै नहुने रहेछ ।’
सडकमै यसरी स्वास्थ्य जाँच गराउन पाएपछि भने अब समय–समयमा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने बुझेका छन् । श्रेष्ठ र रावल मात्र होइन, तिलोत्तमा नगरपालिका–१५ रूपन्देहीका गर्भ चौधरी पनि आँखामा समस्या भएको थाहा पाए । तर आँखालाई स्याहारसुसार गर्नुपर्छ भन्ने जानकारी पाएका उनले भने, ‘अबदेखि सफा पानीले आँखा धुने र राम्रो अस्पतालमा एकपटक गएर देखाउनेछु ।’
निजी कम्पनीको सवारी चालक उनले सडकमा यसरी एक दिन मात्र नभई नियमित रूपमा चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम राख्न आग्रहसमेत गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले अस्वस्थ हुँदा सवारी नचलाउन र समय समयमा स्वास्थ्य परीक्षण गराउने बानी बसाल्न सडकमै स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
पाल्पा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा राखेको शिविरमा निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य समस्याको पहिचान र समयमै उपचार गर्ने वातावरण बनाउन शिविर राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामप्रसाद खनालले बताए ।
शिविरका लागि पाल्पा अस्पतालबाट जिल्ला अस्पताल पाल्पाबाट सिनियर एचए महेन्द्र श्रेष्ठ, स्टाफ नर्स अनिता पाण्डेय, आँखा जाँचका लागि प्राविधिक धीरज कुर्मीले प्रेसर जाँच गर्नुका साथै प्राथमिक उपचार र आँखाको सामान्य जाँच गरेका थिए ।
ट्राफिक प्रहरीले पछिल्लो समय सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । सोही कार्यक्रमअन्तर्गत ट्राफिकले सडकमै चालक र सहचालकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य परीक्षण राखेको जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले दुर्घटना हुनमा बढी बल पुग्ने चालकको आँखा र उच्च रक्तचाप नै भएकाले यसको परीक्षणबाट थप उपचारमा जान पनि सहयोग पुग्ने बताए ।
‘चालकको स्वास्थ्य समस्या पहिचान, परामर्श सेवाका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीले स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गर्दा धेरै चालक तथा सहचालकलाई फाइदा पुगेको छ ।’ सडक दुर्घटना न्यूनीकरण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख खनालले बताए ।
सडकको अवस्था कमजोर रहेको र कार्य व्यस्तताले चालकले नियमित रूपमा आफ्नो स्वास्थ्य परीक्षण नगर्ने समस्या देखिएको उनले बताए । चालक तथा सहचालक खानपानका कारण उच्च रक्तचाप हुने र दुर्घटना हुन सक्ने सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणसहित सचेतना कार्यक्रम गरिएको उनले बताए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । राजमार्गमा गुड्ने सवारी साधनलाई रोकेर यात्रु तथा चालक, सहचालकलाई सचेत गराउन यस्तो अभियान सुरु गरिएको हो ।
विद्यार्थी तथा अन्य सरोकारवालाहरूलाई ट्राफिक नियम पालना गर्ने विषयमा जानकारी गराइएको ट्राफिक प्रहरी प्रमुख खनालले बताए । सरकारी तथा संघसंस्थाको समन्वय र सहकार्यमा ट्राफिक सचेतनालाई थप तीव्रता दिइने उनले बताए ।
ट्राफिक प्रहरी कार्यालय र तानसेन ७ वडा कार्यालयको संयुक्त आयोजनामा सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको छ । ट्राफिक नियम पालना नहुँदा दुर्घटना हुने गरेको बताउँदै ट्राफिकले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।
विद्यार्थीलाई ट्राफिक नियमका विषयमा सचेत गराइएको हो । सडकमा हुने दुर्घटना घटाउन र असुरक्षित यात्रा हटाउन ट्राफिक नियम, चिन्ह, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी र सवारी दुर्घटना न्यूनीकरणका विषयमा सहजीकरण गरिएको छ ।
ट्राफिक प्रहरीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गुल्म हेडक्वार्टर पाल्पाका अधिकृत तथा जवानलाई समेत ट्राफिक नियम, चिन्ह, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी र सवारी दुर्घटना न्यूनीकरणका विषयमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
