बर्दियामा खाद्यले किन्यो ३८ हजार क्वीन्टल धान

पुस २४, २०८१

कमल पन्थी

Food bought 38,000 quintals of paddy in Bardia

बर्दिया — खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरमा गत कार्तिक महिनादेखि सुरु भएको धान खरिद पुस तस्रो सातासम्म ३८ प्रतिशतमात्रै छ । यस वर्ष धान खरिदको एक लाख क्वीन्टल रहेको थियो । व्यापार केन्द्र, राजापुरका मुख्य शाखा प्रमुख राम कमल पाण्डेका अनुसार पुस २४ गतेसम्म धान खरिद करिब ३८ हजार क्वीन्टल खरिद भएको छ ।

'धान खरिद लक्ष्यमा पुग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘मुस्किलले एक सय क्वीन्टल खरिद हुन सक्छ ।' यस वर्ष बर्दियामा धानको उत्पादन बढेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

जिल्लामा ५१ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । जसबाट यसवर्ष करिब २ लाख ३५ हजार क्वीन्टल धान उत्पादन भएको छ । कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले गत वर्ष २ लाख २५ हजार ४ सय ५० क्वीन्टल उत्पादन भएको बताए । 

धानको उत्पादन बढेपनि खाद्य तथा व्यापार केन्द्रमा खरिद कम हुनु व्यापारीले मनपरि खरिद गर्दा घटेको अनुमान गरिएको कर्मचारी बताउँछन् । खाद्य व्यवस्था केन्द्रका सूचना अधिकारी चेतमान कठायतले व्यवसायीले धान रोप्ने मौसममा किसानलाई मल र अग्रिम रकम दिने गरेका कारण खरिदमा कमी आउँदै गरेको बताए । गत वर्ष १६ हजार क्वीन्टल खरिद भएकोमा यस वर्ष बढेको उनको भनाइ छ । गत वर्ष सरकारले मोटो धानको मुल्य ३ हजार १ सय ९८ र मकवानपुर धानको मुल्य ३ हजार ५ सय तोकेको थियो । यस वर्ष मोटो धान ३ हजार ४ सय र मध्यम ३ हजार ५ सय ८० रुपैयाँ कायम गरेको छ भने मकवानपुर धानको ३ हजार ८ सय तोकेको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully