तिलोत्तमा — बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट सो रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिन लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
उनले स्थानीय तह, सुरक्षाकर्मी प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोली गणना गरिँदै आएको बताए । उनले दान पेटिकाबाट संकलित रकम कोषको महत्त्वपूर्ण आम्दानीको स्रोत भएको बताए ।
दानपेटिकामा संकलित दानलाई सीसीटिभी क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरु श्रद्धाले दान गर्छन् ।
दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषले जनाएको छ ।
